गण्डकी प्रदेशसभामा कांग्रेसको अवरोध ।

logo

आँधीखोला खवर/ पोखरा :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले विरोध जनाएपछि आइतबारको गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा बेथिती भएको कांग्रेसले बैठक अवरुद्ध गरेको हो । बजेट अधिवेशनपछिको पहिलो बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बजेट कार्यान्वयनमा बेथिती भएको भन्दैसरकारको माग गर्नु भएको थियो । तर, त्यसको जवाफ नआएको भन्दै कांग्रेसले आइतबारको बैठक अवरुद्ध गरेको जनाएको छ ।
सभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध जनाएका थिए । कृषि अनुदान, होमस्टे कार्यक्रम, मोडल फर्मजस्ता कार्यक्रममा मन्त्रालयबाट बजेट पोके विनियोजन गर्दा विधि र प्रक्रिया विपरीत भएका कांग्रेसको आरोप छ । कालीगण्डकी डाइभर्सन रोक्नुपर्ने, विधेयक ल्याएर प्रदेशसभालाई बिजनेस दिनुपर्ने र आगामी बजेटमा सबै सांसदलाई समेट्नुपर्नेलगायत कांग्रेसको माग छ । काग्रेसको मागमा समाजवादी पार्टीका सांसदले समेत साथ दिएका थिए । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले सरकार र सभामुखको कार्यशैली जायज नभएको भन्दै आक्रोश पोख्नु भयो ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त उपर सभामा छलफल गर्ने आइतबारको कार्यसूची थियो । यसअघि जेठ १७ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सभामा विधेयक पेश गर्नु भएको थियो ।
कांग्रेसले सभा बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै आफ्ना मागबारे जवाफ दिनुपर्ने माग राखेको हो ।

Facebook Comments Box
TOP