अस्पताललाई आवश्यक पर्ने रकम प्रदेश सरकारले बिनियोजन गर्छ — मन्त्री पुन

भवानी अधिकारी / स्याङ्जा :
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गण्डकी प्रदेशका सबै सरकारी अस्पताललाई आवश्यक पर्ने जनशक्ति बाहेकका स्तरोन्नतीका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारले बिनियोजन गर्ने बताउनुभएको छ ।
जिल्ला अस्पताल स्याङ्जाको १९ औं बार्षिकोत्सवको अवसरमा आइतवार बोल्दै मन्त्री पुनले प्रदेशका एघारै वटै जिल्लाका मेडिकल सुपरिेटेन्डेन्टलाई बोलाएर गरिएको छलफलबाट अस्पतालका लागि ८१ करोड बजेट आवश्यक पर्ने बताउदै सो रकम छुट्टाउनका लागि आफनो पहल रहनेमा जोड दिनुभयो । उहाले भन्नुभयो ‘ प्रदेशका सबै अस्पताल राम्रो बनाउने र स्याङ्जाबासीलाई पोखरा धाउन नपर्नेगरी आवश्यक सेवा सुबिधा उपलब्ध गराउनेछौं ।’
पन्ध्र शैयाको जिल्ला अस्पताललाई ५० शैैया बनाउनुपर्ने अस्पताल परिवारकोे मागलाई मन्त्री पुनले जनशक्ति र आवश्यकता अनुरुपको भौतिक संरचना लगायतका बारेमा बृहत छलफल गरेर निर्णय लिईने बताउनुभयो । अस्पतालका लागि आवश्यक पर्ने एम्बुलेन्स, खानेपानी सुबिधा, सेवा सुबिधाका बारेमा प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । भाषण र शासन फरक भएको बताउदै मन्त्री पुनले स्वास्थ्य उपचार गराउदा सेवाग्राहीले उपचारकोे महसुस गर्नेगरी सेवा सुबिधा उपलब्ध गराउन चिकित्सक र सरोकारवालाई आग्रह गर्नुभयो ।


कार्यक्रममा गण्डकी प्रदेश बिधायन समितिका सभापति मोहन रेग्मी, प्रदेश सदस्य द्धय दिपक थापा र मिनप्रसाद गुरुङ, प्रदेश स्वास्थ्य निर्देशक खीमबहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री, अस्पताल विकास समितिका अध्यक्ष लोकराज शर्मा, पूर्व अध्यक्ष दीर्घनारायण शर्मा, डा. अमृत पोखरेल लगायतले २०५७ सालमा स्थापित अस्पतालको स्तरोन्नती गरी समय सापेक्ष अनुरुप संचालन गर्न प्रदेश सरकारको सहयोग आवश्यक पर्नेमा जोड दिनुभएको थियो ।
अस्पतालले आइतवारदेखि आँखा उपचारको सेवा समेत सुरु गरेको छ । यसअघि बालरोग, स्त्री तथा प्रशुती रोग र दन्त रोगको बिशेषज्ञ सेवा उपलब्ध गराउदै आएको अस्पतालले आजदेखि आँखा उपचार केन्द्र संचालन सुरु गर्ने भएको हो ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. बिनिता शर्माले स्वागत एवं डा निरज पौडेलले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP