घुँडा दुःखेर हैरानी खेप्नुभएको छ ? उपचारसँगै गर्नुहोस यी उत्कृष्ट अभ्यासहरू

‘शारीरिक अभ्यास नगरेका कारण समस्या’


डा. यन्जन गैह्रे

काठमाडौँ । आनन्द र सौखको जीवन जिउने बहानामा आजकल व्यस्त दैनिकीमा छौँ हामी । शरीरको ख्याल नगरेरै पनि दैनिकी जोहोको लागि दौडिरहेका छौँ अनि भूलिरहेका छौँ ‘स्वास्थ्य नै धन हो’ भन्ने उक्ति र सत्यता ।

सबैकुराको उपचारसँग तपाईंको अभ्यासको भूमिका नगण्य हुन्छ । तर शारीरिक अभ्यास नगरेका कारण कहिले के दुःख्ने त कहिले के को शिकार भइरहनु परेको छ । विभिन्न दुःखाईमध्ये घुँडा दुःख्ने समस्याले हामी धेरै पीडित बनेका छौँ ।

चिकित्सकका अनुसार करिब ५० प्रतिशत बढी बिरामी घुँडा दुःख्ने हुन्छन् । यस्तो समस्या सबैभन्दा बढी उमेरका कारण हुने गर्छ । जति उमेर उति नै हड्डी खिइँदै जान्छ । नशा च्यापिने कारण धेरै हुन्छन् । हड्डी खिइएर या साना–साना हड्डी पलाएर नशा च्यापिन सक्छ भने पछाडितिरबाट पनि नशा च्यापिन्छ । यस्तै चोटपटकले गर्दा हड्डीले नशा च्यापिन सक्छ । नियमित एक्सरसाइजको अभावमा यो समस्या प्राःय बल्झने गरेको पनि छ ।

उमेरको हिसाबले घुँडा खिइने हुन्छ । २५ वर्षसम्मको उमेरसम्म कुनै समस्या देखिँदैन । ३० वर्ष लागेपछि थोरैथोरै खिइन्छ । ५५ देखि ६० वर्षमा, ५५ देखि ६० प्रतिशत मानिसको घुँडाको हड्डी खिइन्छ । रोगको समस्या हेरेर घुँडा फेर्न पनि सकिन्छ ।

कुरकुरे हाडले गर्दा हड्डी खिइन सक्छ । कहिलेकाहीँ चोटपटकले गर्दा पनि लिगामेन्ट चुँडिने, च्यातिने हुन्छ । त्यसको बेग्लै किसिमको उपचार हुन्छ । यो समस्या जुनसुकै उमेरमा विशेष गरेर खेलकुद, आर्मी, पुलिस, बढी एक्सरसाइज गरेर छाडेका मानिसहरुमा यो समस्या हुन्छ ।

हड्डीको कुनै हाड राम्रो छ भने पनि मेनस्कसचाहिँ च्यातिएको हुन सक्छ । कहिलेकाहीँ मेनस्कस सफा गरेर पनि दुःखाइ कम गराउन सकिन्छ । मेनस्कस भनेको घुँडामा हुने नशा हो । यो च्यातिएर कहिलेकाहीँ घुँडा अड्कने समस्या पनि हुनसक्छ । यस्तो बेलामा पनि दुःखाई हुन्छ । यो समस्या समाधान गर्न च्यातिएको नशालाई झिकेर उपचार गर्न सकिन्छ । डिजेनेरेशन भएको छ भने उमेरको हिसाबले जोर्नीप्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन् ।

हड्डीमा ट्युमर र क्यान्सर भने कम जनसंख्यामा मात्र देखिन्छ । यो २ देखि ३ प्रतिशत मानिसमा देखिने सम्भावना हुन्छ । यसकारण दुःखेको छ भन्दै हेलचेक्राइँ भन्दापनि चिकित्सकिय सल्लाह लिनु अपरिहार्य छ । नत्र सोही रोगले रोगी बनाउँदै लैजान्छ र मानसिक विचलनताले अकाल मृत्युको सामना गर्नु पर्दछ ।

हिमालय योगा तथा प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर डा. यन्जन गैह्रेले घुँडा दुःखाईमा ध्यान दिनुपर्ने कुरा र गर्नुपर्ने अभ्यासहरुलाई यसरी सुझाएका छन् ।

घुँडा दुःखाईमा ध्यान दिनुपर्ने कुराहरु

  1. नियमित व्यायाम गर्ने बानी बसालौँ । जस्तैः जोर्नीहरु चलाउने, सामान्य हिँडाइ आदि ।
  2. टुक्रुक्क अथावा पलेँटी मारेर नबस्ने ।
  3. मनतातो तोरीको तेलमा ३-४ थोपा (दुःखाइ कम गर्ने तेल) मिसाएर बिहान र बेलुकी हल्का मसाज गर्ने ।
  4. तौल घटाउने वा नियन्त्रण गर्ने ।
  5. तातो पानीको व्यागले सेक्ने र सुनिएको छ भने आइसले २-३ मिनेटसम्म हल्का मसाज गर्ने ।
  6. भर्याङ्ग वा सिँडी धेरैपटक तलमाथि नगर्ने ।

घुँडा रोगीले गरिने अभ्यासहरु यस्ता छन्

  1. भित्तामा अढेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्ने- १० गन्ने र १० पटक गर्ने ।
  2. घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुच्चालाई उठाउने- १० गन्ने र १० पटक गर्ने ।
  3. ढाड सिधा गरी कुर्सीमा अढेस लगाएर बस्ने, पालैपालो खुट्टा सिधा माथि उठाउने- १० गन्ने र १० पटक गर्ने ।
  4. दुबै घुँडाको बीचमा रुमाल राखेर च्याप्ने- १० गन्ने र १० पटक गर्ने ।
  5. खुट्टा सिधा तन्काएर बस्ने, दुबै हातले खुट्टाको औँला छुने कोशिष गर्ने- १० गन्ने र १० पटक गर्ने ।

यत्ति गर्न सक्नुभयो भने तपाईंले घुँडा दुःखाइबाट भोग्दै आउनु भएको समस्या निरन्तर ओरालो लाग्छ । तपाईंको अनुहारमा चमकसँगै सबै कुराहरु सामान्य बन्ने पक्का छ ।

डा. गैह्रे हिमालय योगा तथा प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर हुनुहुन्छ ।

साभार —गाँउशहर अनलाईन

Facebook Comments Box
TOP