स्याङ्जाको विकास सम्बन्धी छलफल : विकास निर्माणमा सबैको सहकार्य आवश्यक-मन्त्री अर्याल


भवानी अधिकारी/स्याङ्जा :
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले विकास निर्माणमा सबैको सहकार्य हुनुपर्ने बताउनुभएको छ । राजनीतिक दलबीच सहकार्य र सहमतिले मात्र मुलुकमा विकास र समृद्धी संभव हुने उहाको भनाई छ । मन्त्री अर्यालले चालु आर्थिक बर्षमा पुँजीगततर्फको खर्च सन्तोषजनक नभएकोमा दुख ब्यक्त गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बिहीवार आयोजित स्याङ्जा जिल्लाको विकास सम्बन्धी छलफल कार्यक्रमपछि सम्बोधन गर्दै मन्त्री अर्यालले भन्नुभयो ‘बिकास बजेट खर्च नै नभई कसरी विकास र समृद्धी हुन्छ । पैसाको अभाव छैन, काम गर्नुहोस् , बजेटको चिन्ता नलिनुस् , बजेट ल्याउने काम म गर्छु ।


बजेट छलफलपछि आफु झनै संवेदनशील बनेको बताउदै सबैको चाहना पुरा गर्ने योजना भन्दा आवश्यकतामुखी योजना पहिचान गर्दे सम्पन्न गर्न मन्त्री अर्यालको सुझाव छ । योजना प्रयाप्त भएको बताउदै उनले कार्यान्वयनमा उदासिनता देखिएको जनाउनुभयो । कार्यान्वयन गर्ने कर्मचारी र कर्मचारीसंगै जोडिएका जनप्रपतिनिधी, राजनीतिक दलहरु सबैको सहकार्य भएमा विकास निर्माणले गति लिनेमा उहाको जोड छ ।
एउटै ब्यक्तिले धेरै विकासे योजना कब्जा गर्ने कार्यले विकासले गति लिन नसकेको बताउनुभया । प्रक्रियागत केही त्रुटीहरु पनि छन्’ उहाले थप्नुभयो, खरिद ऐन संशोधन अव एक बर्षभित्र सम्पर्कमा नआउने ठेकेदारसंगको सम्झौता तोडिन्छ ।’
सबैको सहकार्य र एकताले मुलुकमा ठूल्ठूला राजनैतिक र ब्यवस्था परिवर्तन भएको जनाउदै सवै राजनीतिक दलको सहमति र एकताले फेरि मुलुकको समृद्धीमा जुट्नुको बिकल्प नरहेको मन्त्री अर्यालको भनाई छ । सबै जुटौं, नतिजा देखिनेगरी काम गरौं उहाको आग्रह थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्यालले चालु आर्थिक बर्षमा जिल्लामा भए गरेका विकास निर्माणका बारेमा जानकारी गरानुभयो । जिल्लामा विकास निमार्णका गतिबिधी के कस्ता भएका छन भन्ने बारेमा कार्यक्रम आयोजना गरिएको जनाउनुभयो ।


कार्यक्रममा कालीगण्डकी ए जलबिद्युत केन्द्रका प्रमुख प्रशन्नमुनी ताम्राकार, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामप्रसाद पुडासैनी, सडक डिभिजन कार्यालयका प्रमुख सुनीलबाबु पन्त, प्रदेश पूर्वाधार विकास कार्यालय प्रमुख शोभियत खडका, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेल लगायतले आ आफना कार्यालयका आयोजना, बजेट कार्यान्वयन तथा समस्याका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र अनुसार आर्थिक बर्षको ७ महिनामा जिल्लाको पुजीगत खर्च २५ प्रतिशत देखिएको छ । कार्यक्रममा जिल्लाका एघारै वटा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, कार्यालयका प्रमुखहरु, नागरिक समाज, पत्रकार लगायत सहभागी थिए ।

Facebook Comments Box
TOP