छाङछाङदीको छायाँक्षेत्र शीव मन्दिरमा सञ्चालित एक महिने शीव महाआरती सकियो ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको ऐतिहासिक तथा प्रसिद्ध छाङछाङदी—छाँयाक्षेत्र शीव मन्दिरमा सञ्चालित एक महिने शिव महाआरती सकिएको छ । शिव, गिता सत्संग, यज्ञ, सन्ध्याकालिन शिवमहाआरती श्रावण महिना भर चलेको थियो ।


प्रत्येक दिन विहान ६ देखि ७ सम्म विशेष पूजा, दैनिक कन्या पूजा, दैनिक सन्ध्याकालिन ७ देखि ८ सम्म शिवमहाआरती, प्रत्येक सोमबार लक्ष्य दिप प्रज्वलित, २० गते नागपञ्चमी विशेष पूजा, ३० गते जनै पुर्णिमा विशेष पूजा सहित शनिवार यज्ञ समापन गरिएको हो । हरेक दिन राष्ट्रिय भजन गायक नारायण गौतम नेतृत्वको टोलीले संगीतमय भजन प्रस्तुत गर्नु भएको थियो त्यस्तै पण्डित प्रकाश तिवारीले संगितमय कथा बाचन गर्नु भएको थियो ।
यस अवधीभर कलश,मन्दिरको आजिवन सदस्य, आरती कर्ता र अन्य दान दाताहरुबाट गरी झण्डै ८० लाख रुपैया संकलन भएको छायाँक्षेत्र शिव मन्दिर सेवा समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले जानकारी दिनुभयो । जसमा भीरकोट नगरपालिकाले ३ लाख ५१ हजार सहयोग प्रदान गरेको छ भने युवा उद्यमी खुमा अर्यालबाट २ लाख ५१ हजार दान स्वरुप मन्दिरलाई प्राप्त भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एकमहिने कार्यक्रममा २० लाख खर्चको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।


यसैवीच शिव महाआरतीको समापन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान् श्रेष्ठले धार्मिक क्षेत्रको विकासबाट मात्रै स्याङ्जाको आर्थिक विकास सम्भव हुने बताउनु भएको छ । आफ्नै नेतृत्वमा स्याङ्जामा विकासको लहर ल्याएको स्मरण गर्दै पछिल्लो समयमा जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने नेताहरुले जिल्लाको विकास गर्न नसकको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “पंचायतमा एउटा झलुङ्गे पुलका लागि राजाको सवारी कुर्नु पथ्र्यो तर मेरै नेतृत्वमा जिल्लाका अधिकांश स्थानमा पुल निर्माण भएकाछन् ।”
समापन कार्यक्रममा पूर्व पर्यटन मन्त्री बलबहादुर केसीले धार्मिक स्थलमा भगवान र भक्तको सम्वन्ध दिलको हुने हुनाले धार्मिक क्षेत्रको विकासमा सवै लाग्नु पर्ने बताउनु भयो । नेता केसीले भन्नुभयो “खोटाङको हलेसी र स्याङ्जाको छायाँक्षेत्रमा कुनै फरक छैन ।”


समापन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका उपनेता मेखलाल श्रेष्ठ, भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री, भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्य, नेपाल महिला संघकी केन्दीय सदस्य सरस्वती तिवारी, कांग्रेसका क्षत्रीय सभापति अर्जुनप्रकाश अर्याल,नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा,मन्दिर व्यवस्थापन समितिका गोविन्द कुमार कर्माचार्य, नेकपाका डोलराज ढुङ्गाना, वडा नम्वर ४ का अध्यक्ष चन्द्र बहादुर बस्नेतलगायतले बोलेका थिए ।

समापन कार्यक्रम मन्दिर सेवा समितिका अध्यक्ष पिताम्वर श्रेष्ठको अध्यक्षता तथा सञ्चारकर्मी एशिव शरण महतको सञ्चालनमा सम्पन्न भएको थियो ।
मन्दिर परिसरको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
सिद्धार्थ राजमार्गसंगै जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागि नेपाल सहित छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गरेको बताईएको छ ।

यसरी गरिएको थियो-महाआरती, हेर्नुहोस् भिडियो :

Facebook Comments Box
TOP