स्याङ्जाका सात पत्रकार पुरस्कृत ।

वालिङ :
स्याङ्जाका सात पत्रकार पुरस्कृत भएका छन्। प्रेस युनियन स्याङ्जाको १० औँ अधिवेशनका अवसरमा जिल्लामा क्रियाशील सात जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
युनियनले ओमप्रकाश शर्मा, प्रदीप कोइराला, भूपराज बस्याल, अमृत अर्याल, टीकाराम अधिकारी, आरती कुँवर र जीवन डोटेललाई पुरस्कृत गरेको प्रेस युनियन स्याङ्जाले जनाएको छ ।
नेपाल प्रेस युनियन स्याङ्जाले स्थापना गरेको प्रेस युनियन सृजनशील पत्रकारिता पुरस्कार युनियनका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालालाई प्रदान गरिएको छ । यसै गरी भरतराज ढकालले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार ओमप्रकाश शर्मा, संविधानसभा सदस्य राजु थापाले स्थापना गरेको जोखिम पत्रकारिता पुरस्कार भूपराज बस्याल र सुन्दर भण्डारीले स्थापना गरेको नेत्र स्मृति पत्रकारिता पुरस्कार अमृत अर्याललाई प्रदान गरिएको छ ।
यस्तै गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले स्थापना गरेको गजिन्द्रप्रकाश स्मृति पत्रकारिता पुरस्कार टीकाराम अधिकारी, सुवर्णमान श्रेष्ठले स्थापना गरेको गोपालमान स्मृति पत्रकारिता पुरस्कार आरती कुँवर र खुमा अर्यालले स्थापना गरेको कृषि पत्रकारिता पुरस्कार जीवन डोटेललाई प्रदान गरिएको हो ।
गोपालमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारको नगद राशि ११ हजार १११ रुपियाँ रहेको छ भने अन्य पुरस्कारको नगद राशि पाँच हजार रुपियाँ रहेको प्रेस युनियन स्याङ्जाले जनाएको छ ।
सातै जना पत्रकारलाई नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुरस्कृत गर्नुभएको हो। प्रमाणपत्र, दोसल्ला र नगदसहित सम्मानित हुनुभएका पत्रकारहरू लामो समयदेखि जिल्लाका विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

त्यस्तै प्रेस युनियन स्याङ्जाले प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, उपमहासचिव दिलिपाश्री अधिकारी, केन्द्रिय सदस्य श्रीकृष्ण सिग्देल, नेपाल पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष प्रकाश डोटेल, पूर्व उपाध्यक्ष भवानी अधिकारीलाई सम्मान गरेको छ । उहाँहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
अधिवेसनको उद्दघाटनलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियन पार्टीको झोले संस्था नभएको भन्दै पत्रकारितालाई संस्थागत गर्ने संगठन भएको बताउनुभयो । साथै अध्यक्ष लम्सालले वर्तमान सरकारले प्रेस विरोधि गतिविधिहरु गरिरहेको भन्दै यस्तो अवस्थामा पत्रकारिता जगत झनै शसक्त हुनुपर्नेमा जोड दिनुभयो । लोककल्याणकारी विज्ञापन कटौती गर्ने निर्णयप्रति प्रेस युनियनको गम्भीर आपत्ति रहेको भन्दै पत्रकारितालाई संस्थागत गर्न सबै पत्रकारहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस स्याङ्जा क्षेत्र नं. २ का सभापति दिलिपप्रताप खांणले पत्रकारहरु व्यवसायिक हुनुपर्ने भन्दै पत्रकारिताजगत आर्थिक रुपमा सबल हुनुपर्ने बताउनुभयो । पत्रकार केवल संगठनमा मात्रै रहने दल तथा गुटगत रुपमा लाग्ने अवस्था रहेको भन्दै अव पत्रकारिता जगत संस्थागत रुपमा उद्यमी बन्नुपर्ने भन्दै यस कार्यमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव दिलिप पौडेल, उपमहासचिव दिलिपाश्री अधिकारी, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भुपराज बस्याल, जनपत्रकार संगठन केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे, नेपाल पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष श्रीकृष्ण सिग्देल, ओम प्रकाश शर्मा, नेपाल प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी, नेपाली कांगे्रस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेलगायतले पत्रकारले लुकेका र लुकाईएका विषयलाई उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम प्रेस युनियन जिल्ला सभापति तोलाकान्त बगालेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष गोपीकृष्ण रेग्मी र सञ्चालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो ।
Facebook Comments Box
TOP