पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

स्याङ्जा:

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनु भएकाे छ । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ्ने बताउनु भयाे ।

“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उहाँले भन्नुभयाे, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु ।” पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्नकालागि लागि पर्ने उहाँले बताउनु भयाे ।

देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उनले नागरिकमाझ विश्वास र भरोसा जगाउने बताउनु भयाे । स्व श्रेष्ठले पार्टीलाई मजबुत बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ थियो ।

विपद्को समय सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ । शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका वक्ताहरूले स्व श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गरेका थिए ।

स्व. श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनुभएको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै शोकसभा आयोजना गरिएको नेपाली कांग्रेस स्याङ्जाले जनाएकाे छ ।

कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा क्यान्सर रोगका कारण ८३ वर्षको उमेरमा निधन भएको थियो।

२०१७ सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहनुभएको थियो।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बन्नुभएका श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको थियो। उहाँले उपप्रधानमन्त्रीसहित शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण र उद्योगमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।

Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP