स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र त्यसमा सवार दुई जनालाई बगाएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार साउन २८ गते राति करिब १०:२० बजेको समयमा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३, पुतलीखेत बस्ने १७ वर्षीय समिप शाही भने सकुशल उद्धार हुन सफल भएका छन्। तर, मोटरसाइकल चालक पुतलीबजार–३, बाडखोला बस्ने २१ वर्षीय सलिम मगर भने खोलामा वेपत्ता भएका छन्।

सशस्त्र, सेना र प्रहरीद्वारा खोजी तीव्र

घटनालगत्तै खटिएको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले रातभर र भोलिपल्ट बिहानैदेखि तीव्र खोजतलास जारी राखेको छ।

बुधबार (साउन २९ गते) बिहान ६:४५ बजेको समयमा दुर्घटनास्थलबाट करिब १०० मिटर तल खोलामा बगेको ग ११ प ८१८३ नम्बरको मोटरसाइकल फेला पारी बाहिर निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीको भनाइ: “मोटरसाइकल फेला परिसकेको भए पनि बेपत्ता चालक सलिम मगरको अहिलेसम्म कुनै अत्तोपत्तो पाउन सकिएको छैन। सुरक्षा निकायका तीनै वटा अंग मिलेर सम्भावित क्षेत्रहरूमा खोजी कार्य निरन्तर जारी राखिएको छ।”

खोलामा पानीको बहाव उच्च रहेकाले उद्धार तथा खोजी कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। वर्षात्को समयमा उर्लेका खोलानाला र हिलाम्मे सडकमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सर्वसाधारणमा अनुरोध गरेको छ।

Facebook Comments Box
TOP