स्याङ्जामा बाँदर आतंक ‘पाकेको बाली भित्राउनै पाउँदैनन् किसान’

प्रकाश डोटेल/स्याङ्जा :

जिल्लाका किसानले आफ्नो खेतबारीमा लगाएको अन्नबाली बाँदरले दिनहुँ सखाप पार्ने गरेको छ । गाउँघरमा बाँदर आतंकले सीमा नाघेको छ । वर्षभरि पसिना बगाएर लगाएको बाली भित्राउने बेलामा बाँदरले सखाप पार्न थालेपछि जिल्लाका किसान पीडासँगै चिन्तामा परेका छन् ।

मौसम अनुसार मकैमा घोगा लाग्ने र पाक्ने समय हो यो । तर, खेतबारीमा खटिएका किसानका लागि बाँदर ठूलो चुनौती बन्दै गएको छ । बाली जोगाउन किसानले दिनरात खेतबारी कुरिरहेका छन् भने बाँदरको हुलले क्षणभरमै महिनौंको मेहनत सखाप पारिदिने गरेको छ । भीरकोट नगरपालिका–५ पकानका सुर्य थापाले खेतमा बाँदरले मकै सखाप पारेको पीडासँगै चिन्ता सुनाए ।

महिनौको मिहिनेत एकैछिनमा समाप्त भएको जनाउँदै थापाले उत्पादन लिने बेलामा बाँदरले बाली नष्ट गरिदिँदा आफूलाई ठूलो चोट पुगेको बताए । ‘मिहिनेत, लगानी र आशा सबै एकैपटक समाप्त भयो ।’ उनले भने, ‘कृषि पेसालाई व्यवसाय बनाउने सपना बोकेका मजस्ता किसान बाँदर आतंकले निराशमा हुँदै गएका छन् ।’ उनका अनुसार खेती गर्ने समयमा मल, बीउ, जोताइ, सिँचाइ र मजदुरी व्यवस्थापनमा ठूलो खर्च हुन्छ । उत्पादन भित्राउने समयमा बाँदरले खेतबारी सखाप पारेपछि लगानीसमेत खरानी बनेको थापाले बताए ।

वालिङ नगरपालिका–९ का किसान भविश्वर गैह्रेको नियती पनि फरक छैन । पाक्न थालेको मकै बाँदरले सखाप पारेको उनले बताए । ‘हिजो एकै दिनमा बाँदरले सबै बाली सखाप पारेछ् ।’ दुःखी हुँदै उनले थपे ‘दिनरात नभनि मल बोकेर लगाएको मकै दिनहुँ कुरेर हुर्कायौं, तर उत्पादन लिने बेलामा सबै सखाप भयो ।’ आक्रोश मिश्रित भावमा उनले बाँदर मार्न पाउनुपर्ने जिकिर गरे । यदि मार्न पाइँदैन भने सरकारले बाँदर छोपेर किसानलाई देओस्, हामी पाल्न तयार छौं । होइन भने बाँदर कुर्न किसानलाई सरकारले जनशक्ति उपलब्ध गराउनुपर्ने उनको माग छ ।

कालीगण्डकी गाउँपालिकाका दुर्गा भट्टराईले बाँदर आतंक दिनप्रतिदिन बढ्दै गएको र बाँदरले मकै, फलफूल र तरकारीलगायत खेतबारीमा लगाएको बालीनाली नष्ट गर्दा पनि जनप्रतिनिधिहरु रमिते बनेर बसेको गुनासो गरे । पछिल्लो समय बाँदर खेतबारीमा मात्रै सीमित नभई घरघरमै प्रवेश गरी खाद्यान्न तथा अन्य सामग्रीमा क्षति पु¥याउने गरेको भट्टराईले जनाए ।

बाँदरबाट अन्नबाली बचाउन किसानले दिनभर खेतबारीमा कुर्नेे, ड्रम बजाउने, कुकुर पाल्ने, ड्रोन उडाउने जस्ता विभिन्न उपाय अपनाउने गरेका छन् । उनका अनुसार बाँदरको संख्या बढ्दै जाँदा किसानका उपाय प्रभावहीन बन्दै गएका छन् । विगत केही वर्षयता बाँदरको समस्या विकराल बन्दै गएको छ । उत्पादन लिने बेला मकै, तरकारी, फलफूल, आलुलगायत खेतबारीमा उपलब्ध बालीमा ठूलो क्षति पु¥याउने गरेको भट्टराईले बताए ।

पछिल्लो सयम अधिकांश किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् भने केहीले गाउँ नै छाडेर अन्यत्र बसाइँ सर्न बाध्य छन् । कृषि उत्पादन बढाउने र युवालाई गाउँमै स्वरोजगार बनाउने सरकारी नीतिको चर्चा जति चलेपनि किसानहरु भने बाँदरको समस्याबाट जोगिन नसकेको गुनासो गर्छन् । बाली नष्ट हुँदा क्षतिपूर्ति पाउने व्यवस्था प्रभावकारी छैन भने दीर्घकालीन समाधानका लागि पनि पर्याप्त पहल हुन नसकेको उनीहरुको दुःखेसो छ । गाउँमा खेती गर्न चाहने किसान दिनप्रतिदिन घट्दै जानु, खेतीयोग्य जमिन बाँझिनु र युवा पुस्ता गाउँ छाड्न बाध्य हुनुका पछाडि बाँदरको बढ्दो आतंक प्रमुख कारण मानिएको छ ।

भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले बाँदर पीडित किसानको समस्यालाई पालिकाले गम्भीरतापूर्वक लिएको सुनाए । राष्ट्रिय समस्या बनेको बाँदर आतंक स्थानीय तहको प्रयासले मात्र पर्याप्त नहुने उनले भनाइ छ । ‘केन्द्र सरकारले नै स्पष्ट नीति बनाएर बाँदर समस्या समाधानमा चासो दिनुपर्छ ।’ उनले भने, ‘स्थानीय सरकारले हालसम्म गरेका प्रयासहरु अपेक्षाअनुसार सफल हुन सकेका छैनन् । त्यसैले प्रभावकारी उपायको खोजीमा छौं ।’

बाँदर आतंकले बाली मात्र होइन, मानिसको ज्यानसमेत जोखिममा पर्न थालेको छ । गतसाता वालिङ नगरपालिका–४ रत्नेस्थित हिमाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु घर फर्कने क्रममा बाँदरको आक्रमणबाट घाइते भएका छन् । त्यसअघि गत महिना गल्याङमा बाँदरको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका थिए । जिल्लाका विभिन्न स्थानमा बाँदरले गर्ने आक्रर्मणका घटना बढ्दै जाँदा स्थानीयवासी त्रसित बन्न थालेका छन् ।

यता डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख नवराज बरालले बाँदर समस्या राष्ट्रिय समस्या भएको बताए । खेतबारीमा बाँदरले ठूलो मात्रामा क्षति पु¥याए आंशिक रुपमा क्षतिपूर्ति दिने व्यवस्था रहेको उनले जानकारी दिए । ‘हालै वालिङमा २० रोपनी क्षेत्रफलमा लगाइएको मकै बाँदरले पूर्ण रुपमा नष्ट पारेको निवेदन आएको थियो,’ उनले भने ‘त्यसको क्षतिपूर्तिका लागि केन्द्रमा सिफारिस गरिएको छ ।’ मानिसहरुले गाउँको बस्ती खाली गराएर बजारतिर सर्दै जाँदा गाउँघरमा बाँदरसँगै जंगली जनावरको संख्यासँगै आतंक बढेको बरालको बुझाइ छ ।

किसानहरु सरकारी आश्वासन भन्दा व्यवहारिक समाधान खोजिरहेका छन् । उनीहरु बाँदर नियन्त्रण, बाली सुरक्षाको प्रभावकारी व्यवस्था र क्षतिपूर्तिको सुनिश्चितता चाहन्छन् । अन्यथा गाउँमा खेती गर्ने किसान थप घट्दै जाने र उर्वर जमिन बाँझिने क्रम अझ बढ्ने उनीहरुको चिन्ता छ । वर्षौंको मिहिनेत, लगानी र भविष्यको आशा बोकेर खेतबारीमा पसिना बगाइरहेका किसान खेती सखाप भयो भनेर मात्रै होइन्, भोलि के खाने भन्ने चिन्तामा परेका छन् ।

Facebook Comments Box
TOP