स्याङ्जामा ३४४ एचआईभी संक्रमित, वालिङ सबैभन्दा धेरै
स्याङ्जा :
: स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवा लिइरहेका संक्रमितको तथ्याङ्कअनुसार यो संख्या प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले सार्वजनिक गरेको हो ।
संक्रमितमध्ये एक सय ८० जना महिला र एक सय ६२ जना पुरुष रहेका छन् । यो संख्या गण्डकी प्रदेशमै कास्कीपछि दोस्रो ठूलो हो ।
कुन स्थानीय तहमा कति ?
तथ्याङ्कअनुसार जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमित वालिङ नगरपालिकामा छन्, जहाँ ७६ जना संक्रमित उपचारमा छन् । त्यस्तै, पुतलीबजार नगरपालिका र चापाकोट नगरपालिकामा समान ४६/४६ जना, भीरकोट नगरपालिकामा ४१ जना, गल्याङ नगरपालिकामा ४० जना, कालीगण्डकी गाउँपालिकामा २२ जना, बिरुवा गाउँपालिकामा १३ जना, फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकामा समान ८/८ जना तथा हरिनास गाउँपालिकामा चार जना संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् ।
यसबाहेक अन्य जिल्लाबाट आएर स्याङ्जामा उपचार गराइरहेका ३२ जना पनि एआरटी सेवामा आबद्ध छन् । एआरटी सेवामा रहेका ३४४ संक्रमितमध्ये पुतलीबजार नगरपालिकाका दुई जना बालबालिका (एक बालिका र एक बालक) रहेका छन् ।

उपचार र सचेतनामा जोड
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका ल्याब टेक्निसिएन अधिकृत तथा एचआईभी कार्यक्रमका फोकल पर्सन पृथ्वी लामिछानेले पछिल्ला वर्षहरूमा संक्रमितहरू नियमित उपचारको पहुँचमा आउन थालेको बताए । “एचआईभी संक्रमण पहिचान भएपछि समयमै एआरटी सेवा सुरु गर्दा संक्रमितले सामान्य जीवनयापन गर्न सक्छन् । त्यसैले संक्रमण लुकाउनेभन्दा परीक्षण, परामर्श र नियमित उपचारमा जोडिनु सबैभन्दा महत्वपूर्ण पक्ष हो,” उनले भने ।
एचआईभी नियन्त्रणका लागि नियमित परीक्षण, समयमै उपचार र सुरक्षित यौन व्यवहार सबैभन्दा प्रभावकारी उपाय हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख जनस्वास्थ्य प्रशासक राम बहादुर नेपालीले एचआईभी नियन्त्रणका लागि उपचारसँगै सचेतना र सुरक्षित व्यवहारलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।
“एचआईभी अब उपचार नहुने रोग होइन । समयमै परीक्षण, नियमित औषधि सेवन र सामाजिक विभेद अन्त्य गर्न सकियो भने संक्रमितले सहज रूपमा जीवन बिताउन सक्छन्,” उनले भने ।
नयाँ संक्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार, नियमित परीक्षण र समुदायस्तरमा जनचेतना अभिवृद्धि अपरिहार्य रहेको नेपालीले बताए । उनले समुदायमा एचआईभीप्रति रहेको भ्रम हटाउँदै परीक्षण र परामर्श सेवामा पहुँच बढाउन स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीको तथ्याङ्कअनुसार वैशाखसम्म गण्डकी प्रदेशमा तीन हजार १७१ जना एचआईभी संक्रमित उपचारमा रहेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार कण्डम परिवार नियोजनको साधन मात्र नभई एचआईभी तथा अन्य यौनजन्य संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो । त्यसैले यसको प्रयोग र सहज उपलब्धतालाई बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
जनस्वास्थ्य कार्यालयले एचआईभी संक्रमणबारे भ्रममा नपरी जोखिमपूर्ण व्यवहार भएका व्यक्तिलाई स्वेच्छिक परीक्षण गराउन र संक्रमण पुष्टि भएमा नियमित एआरटी सेवामा आबद्ध हुन आग्रह गरेको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ दिन अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


