पर्यटकको रोजाइमा म्हाजु भन्ज्याङ

 स्याङ्जा :

स्याङ्जाको आँधीखोला गाउँपालिका अन्तर्गत म्हाजु भन्ज्याङ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिरुबारी सामुदायिक घरबास पुग्ने मूल सडक किनारको यो स्थानमा पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ ।

शनिबार र आइतबार दुई दिन बिदा हुँदा यो ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ देखि यस ठाउँमा पर्यापर्यटनका माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्ने गरी कार्यक्रम अगाडि सारिएको हो । बिदाका दिनमा झन्डै एक हजारभन्दा बढी पर्यटक सो ठाउँमा आउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । म्हाजु भन्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागतद्वार, झुला, प्रतीक्षालय, म्हाजु भन्ज्याङ पर्यापर्यटन क्षेत्र आदि रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय मौलिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेलीघर पनि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा यस ठाउँमा पूर्वाधार विकासका लागि झन्डै एक करोड रुपियाँ लगानी भइसकेको पालिकाले जनाएको छ । वडा कार्यालयले सार्वजनिक जमिनलाई भाडामा लगाएर ‘इको स्टे’ सञ्चालन गरेकाले स्थानीय १० जना युवाले रोजगारी पाएका वडाध्यक्ष पवनकाजी अधिकारीले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गको नागडाँडाबाट छोटो दुरीमा म्हाजु भन्ज्याङ पुग्न सकिन्छ । सडक पक्की भएपछि यहाँ घुम्न आउने पर्यटकलाई सहज भएको छ । सडक निर्माणपछि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको स्थानीयको भनाइ छ ।

Facebook Comments Box
TOP