निर्वाचन सुरक्षामा प्रविधिको प्रयोग: पर्साका उम्मेदवारलाई सशस्त्र प्रहरीको ‘ह्वाट्सएप’ सन्देश
पर्सा :
गएको मंगलबार विहान ११ बजे पर्साका चारैवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ह्वाट्सएपमा एउटा सन्देश प्राप्त गरे । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेक्वा पर्सा, चारैवटा निर्वाचन क्षेत्रका वेश र कमाण्डरहरुको फोन नं. सहितको उक्त सन्देशमा आगामी २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल निर्वाचन सुरक्षाको लागि पर्सा जिल्ला सबै क्षेत्रहरुमा परिचालन भइसकेको जानकारी दिइएको थियो । सन्देशमा उम्मेदवारहरूलाई निर्वाचन सुरक्षासंग सम्बन्धित गतिविधी, कार्यक्रम र सूचनाहरु आदानप्रदान गर्न अनुरोध समेत गरिएको थियो।
सामाजिक सञ्जाल र म्यासेजिङ एप्लिकेशनको बढ्दो प्रयोग र प्रभावसंगै सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हेडक्वार्टर पर्साले निर्वाचन सुरक्षालाई चुस्त र व्यवस्थित बनाउन र उम्मेदवारहरुसंग निरन्तर सम्पर्कमा रहन यो शैली अपनाएको हो। सन्देश पाएसंगै अधिकांश उम्मेदवारहरुले संन्देश हेरेका छन् र लाइक गरेका छन् भने केही उम्मेदवारहरुको ह्वाटएप नंम्बरमा सन्देश गएको तर हेरिएको नदेखिएको पर्सा निर्वाचन क्षेत्र नंम्बर १ निर्वाचन सुरक्षा वेशका पेशपति डिएसपी विकाश अधिकारीले बताएका छन्। उनका अनुसार सन्देश पाउने केही उम्मेदवारहरुले आफ्नो निर्वाचन कार्यक्रम ह्वाट्सएपमै पठाउन थालेका छन। यसले सशस्त्र प्रहरी बल, नेपाल र उम्मेदवारहरुबिच सम्पर्क रहिरहने , सुरक्षा व्यवस्थापन सहज हुने र कतै केही भए छिटो भन्दा छिटो सम्बन्धित ठाउँमा पुग्न सजिलो हुने उनले बताए।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी डिएसपी मोहनराज निरौलाले उम्मेदवारहरुलाई सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट पठाइएको सन्देश प्रभावकारी भएको बताए। गणको निर्वाचन सेलका प्रमुख समेत रहेका निरौलाले गण, निर्वाचनमा खटिएका कमाण्डर र उम्मेदवारहरुबिच सामाजिक सञ्जालको माध्यमबाट समेत सम्पर्क स्थापित भएको र निर्वाचन सुरक्षासँग सम्बन्धित हरेक बिषयहरुमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन र प्रतिकृया छिटो र सहज भइरहेको बताए। उनका अनुसार माघ २१ गते पर्साका चारैवटा निर्वाचन क्षेत्रमा डिएसपीको कमाण्डमा निर्वाचन सुरक्षा बेश स्थापना भई केन्द्रिय नीति अनुसार चारवटै निर्वाचन क्षेत्रमा १६ वटा स्ट्राईकिङ्ग र ३२ वटा मोबाइल टोलीहरु परिचालन भइसकेका छन्। निर्वाचनमा जिल्लाभर ३८५ जना निर्वाचन प्रहरी खटाइएको उनले बताए ।
सशस्त्र प्रहरी बल,नेपाल नं १३ गण हेडक्वार्टर पर्साका गणपति एसपी मोहन बहादुर क्षेत्रीले सामाजिक सञ्जालको युगमा सूचना आदान प्रदानको छिटो र भरपर्दो माध्यमलाई निर्वाचन सुरक्षासँग सम्मिलित गराई उम्मेदवारहरुलाई समेत सहभागी गराएको र यसले उम्मेदवारहरुको सुरक्षा र सम्पूर्ण निर्वाचन सुरक्षालाई प्रभावकारी तुल्याउन सहयोग पुग्ने बताए। “हामी हर हिसाबले सबै मतदाता र उम्मेदवारहरूलाई तपाईको सुरक्षाको लागि सशस्त्र प्रहरी बल, नेपाल २४ सै घण्टा तयार छ र त्यसको लागि जिल्लाभर परिचालित छौं भन्ने सन्देश दिन चाहन्छौं।“ क्षेत्रीले भने, “चुनावलाई निष्पक्ष,भयरहित र विश्वासिलो वातावरणमा सम्पन्न गर्न मतदाता, उम्मेदवार, स्थानीय प्रशासन र सबै सुरक्षा निकायबीच नियमित रुपमा सूचना आदान प्रदान र आवश्यक समन्वय भईरहेको छ । “ उनका अनुसार सशस्त्र प्रहरी नेपाल नेपालले पर्सा जिल्लाभर एकल तथा नेपाली सेना र नेपाल नेपाल प्रहरीसँग संयुक्त रुपमा निर्वाचन सुरक्षा लक्षित पैदल तथा मोबाइल गस्ती गरिरहेको छ ।
सशस्त्र प्रहरी बल, नेपालले निर्वाचन सुरक्षा व्यवस्थापन र प्रभावकारी परिचालनका लागि प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल, काठमाडौं उपत्यका सहित सबै प्रदेशका बाहिनीहरुमा क्षेत्रीय निर्वाचन सेल र गण गुल्म स्तरमा जिल्ला निर्वाचन सेल गठन गरी काम गरिरहेको छ ।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता डिआईजी बिष्णु प्रसाद भट्टले सशस्त्र प्रहरी बल, नेपालबाट देशका सबै जिल्लाका निर्वाचन क्षेत्रहरुमा १६५ वटा निर्वाचन सुरक्षा बेश, ५४१ वटा स्ट्राईकिङ्ग र १२५२ वटा मोवाईल गस्ती परिचालन भएको बताए । भट्टका अनुसार कार्यालय सुरक्षामा खटाईएका कर्मचारी बाहेक देशभर ३४००० सशस्त्र प्रहरीहरु निर्वाचन सुरक्षाका लागि फिल्डमा पुगिसकेका छन् ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


