उमेर पुगेर बिहे गर्ने दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने ।
महोत्तरी:
महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । सोमबार बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् ।
“छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरूको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले रु ५० हजार नगद प्रोत्साहन रकम दिनेछ”, नगरप्रमुख क्षत्रीले भने, “यसले तपाईँहरूको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।” यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पारे ।
नगरक्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भएपनि मुसहर बस्तीमा बालविवाह भने यथावत् नै छ ।
अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरुको तीन वर्षे लघुजीवन बीमाबापत् रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ रु एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो । बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।
नगरप्रमूख क्षत्रीसहित बीमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बीमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बीमा गराइएको जनाइएको छ । बीमितले तीन वर्षपछि भवितव्य पर्दा रु एक लाख नगद पाउने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिए ।
नगरपालिकाले बीमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताइन् । सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बीमा गरिदिएकोमा खुशी व्यक्त गरे ।
मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताइन् । बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


