स्थानीय पर्यटनको प्रर्वद्धनका लागी रेडियो आँधीखोलाको घुम्ती बैठक पित्लेकमा

कला राना/वालिङ :

स्थानीय पर्यटनको प्रवृद्धनका लागी आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो आँधीखोलाको घुम्ती बैठक सहितको वनभोज वालिङ ५ को पर्यटकीय स्थल पित्लेकमा सम्पन्न भएको छ । संस्थाको १८औँ वार्शिक साधारण सभा तथा छैठौँ अधिवेसनको तयारीका लागी शुक्रबार पर्यटकीय स्थल पित्लेक सामुदायिक होमिस्टेमा घुम्ती बैठक सम्पन्न भएको हो । यही फाल्गुन २६ गते आयोजना गरिएको संस्थाको साधारण सभा तथा अधिवेसनका लागी विभिन्न उपसमितिहरु समेत गठन गरि तयारीलाई तिव्र पारिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो ।

यहाँका स्थानीय पर्यटकीय संभावनाले भरिएको पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले घुम्ती बैठक पित्लेकमा सम्पन्न भएको भन्दै अध्यक्ष पाण्डेले बताउनुभयो । उहाले भन्नुभयोे, “वालिङ तथा समग्र स्याङ्जा पर्यटकीय संभावनाले भरिपुर्ण ठाउँ हो । यहाँका ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागी रेडियोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको सर्वविधितै छ । आगामी दिनमा हामी अझै परिस्कृत हुँदै जाने र यस्ता विभिन्न पर्यटकीय स्थलहरुको संभावना उजागर गर्न पर्यटकीय स्थलहरुमा घुम्ती बैठक गर्नेछौँ ।”

रेडियो संचालक सदस्य तथा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले कलमको माध्यमबाट पर्यटनको उजागर गर्दै आएको सञ्चार माध्यमले घुम्ती बैठक पर्यटकीय स्थलमा गर्दा यसले झनै सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । पित्लेक अर्गानीक फार्म हाउसका संचालक तथा पित्लेक सामुदायिक होमिस्टेका अध्यक्ष भुपिन गुरुङले संचारको टिम नै पित्लेकमा आउँदा निकै खुसी लागेको भन्दै यसले यहाँको प्रचारप्रसारलाई थप टेवा पुग्ने बताउनुभयो ।

बैठकले साधारण सभा सम्पन्न गर्नका लागी प्रचारप्रसार, व्यवस्थापन, सामाग्री खरिद, अतिथि सत्कार, मायाको चिनो खरिदलगायतका विभिन्न उपसमितिहरु गठन तथा महत्वपुर्ण निर्णयहरु गरेको रेडियोका प्रबन्धक तोलाकान्त बगालेले बताउनुभयो । कार्यक्रममा संस्थाका संचालनक समिति सहित कर्मचारीको समेत सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP