सम्बन्ध विच्छेदमा पत्नीले अंश पाउने अवस्था ।

netra subedi

नेत्रप्रसाद सुवेदी :

मुलुकी देवानी संहिता २०७४ मा सम्बन्ध विच्छेद हुँदा पत्नीले अंश पाउने वा नपाउने भन्ने विषयमा स्पष्ट व्यवस्था गरेको छ । ऐनको दफा ९९ मा पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध बिच्छेद गर्नुअघि पति पत्नी विच अंशबण्डा गर्न लगाउनुपर्छ । ऐनको दफा ९५ अनुसार मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार ३बर्ष वा सो भन्दा समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च रचेमा, पतीले अर्को बिवाह गरेमा, पतीले अन्य महिला सँग यौन सम्बन्ध राखेको ठहरिएमा पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरिएमा पत्नीले पतिबाट अंश पाउने व्यबस्था रहेको छ ।

संगोलको सम्पति पति पत्नी दुबैको नाममा वा पति पत्नी मध्ये एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनुअघि निजहरु विच कानुन बमोजिम सम्पतिको अंशबण्डा गर्नुपर्दछ । सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियार बाट अंश लिई नसकेको भए अदालतले दुबै पक्षबाट अंशियार खुलाउन लगाई अंशबण्डा गर्न अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नुपर्ने भए बुझी निजहरुबाट अंशको फाँटबारी माग गरी पति पत्नीको अंश छुट्याई अंशबण्डा गरिदिनुपर्छ । अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अंशबण्डा नभएसम्मको लागि पतिको सम्पति र आयस्ताको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भराई दिन सक्नेछ ।

तर कानुन बमोजिम अंश लिई वा मानो छुट्टिई पती पत्नी भिन्न बसेको अवस्थामा । पत्नीले पतीलाई खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएको । पत्नीले पतीको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेको र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई अंश दिन वा खर्च भराउन पति बाध्य हुनेछैन ।

यदि पत्नीले अंश नलिई एकमुष्ठ मासिक वा बार्षिक रकम वा खर्च भराई लिन चाहेमा पतीको आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाईदिन सक्नेछ । तर पत्नीले अर्को बिवाह गरेमा त्यस्तो रकम वा खर्च दिनुपर्ने छैन । पतिको कुनै सम्पती नभएमा पतिको आयस्ताको आधारमा खर्च भराउनु पर्छ । तर पत्नीले अर्को बिवाह गरेमा वा पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पतिले खर्च दिनु नपर्ने व्यबस्था ऐनले गरेको छ । सम्बन्ध विच्छेद हुदा पत्नीले पाउने अंश वा खर्च पति पत्नी बिच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुने तर नाबालकको हित विपरित हुने सहमति भने गर्न नपाउने व्यवस्था मुलुकी देवानी संहिता २०७४ को दफा १०२ मा गरिएको छ । सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पती निजको छोराछोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पुर्व पतिबाट पाएको सम्पति त्यस्ता पतिले र अन्य सम्पती मावली पट्टीका हकवालाले पाउछन् ।
अत यस ऐनमा भए बमोजिम काम कारबाहीमा मर्का पर्ने व्याक्तिले मुद्धा गर्नुपर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले ३ महिना भित्र नालिस गर्न सकिने व्यबस्था रहेको छ ।

(लेखक सुवेदी वालिङ नगरपालिका न्यायीक समितिको सल्लाहकार हुनुहुन्छ ।)

Facebook Comments Box
TOP