रोजगारीबाट फर्केका तथा वैदेशिक रोजगारमा रहेका परिवारका लागी उद्यमशीलता कार्यक्रम

वालिङ :
आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति तथा वैदेशिक रोजगारमा रहेका परिवारका सदस्यहरूलाई लक्षित गरी उद्यमशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्न सके आन्तरिक रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो। उहाँले विदेशबाट फर्केका युवालाई उद्यमीका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
नगर उपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई उद्यमीहरूको सहरका रूपमा विकास गर्ने लक्ष्यअनुसार नगरपालिकाले सीप, रोजगार तथा उद्यमशीलता केन्द्र स्थापना गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो। विदेशमा हासिल गरेको सीपलाई सीप परीक्षणमार्फत प्रमाणित गरी उद्यम तथा रोजगारीसँग जोड्ने व्यवस्था गरिने उहाँको भनाइ थियो।
रोजगार शाखाका संयोजक पवन बस्यालका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका २५ जना सहभागीलाई उद्यम सञ्चालनका लागि आवश्यक उद्यमशीलता, व्यवसाय व्यवस्थापन तथा सम्बन्धित नीति–ऐनबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा गरिमा विकास बैंक वालिङ शाखाका प्रबन्धक महेश गैह्रे, वालिङ नगरपालिकाका लेखा शाखा प्रमुख भोजराज बगाले तथा उद्यमशीलता सहजकर्ता इन्द्रा घर्तीले सहजीकरण गर्नुभएको थियो। उनीहरूले व्यवसाय सञ्चालन, वित्तीय पहुँच, लगानी व्यवस्थापन तथा सरकारी सेवासुविधाबारे सहभागीलाई जानकारी गराएका थिए।
त्यसैगरी, इन्द्रेणी बंगुर पालनका सञ्चालक भीम लुइँटेलले वैदेशिक रोजगारीबाट फर्किएपछि नेपालमै बंगुर पालन व्यवसाय सुरु गर्दा भोग्नुपरेका संघर्ष, चुनौती र सफलताका अनुभव साझा गर्नुभयो। उहाँले विदेशमा सिकेको सीप र आत्मविश्वासलाई स्वदेशमै उपयोग गर्न सके सफल उद्यमी बन्न सकिने भन्दै सहभागीलाई उद्यमशीलतातर्फ अघि बढ्न प्रेरित गर्नुभयो। कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार तथा उद्यमतर्फ आकर्षित गर्दै स्थानीय स्तरमा रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Facebook Comments Box
TOP