फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा
वालिङ :
स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरीपालनलाई स्थानीय आर्थिक विकास, स्वरोजगार र कृषि व्यवसायीकरणसँग जोड्दै अघि बढाएको अभियानले किसानको आयआर्जनमा टेवा पु¥याउन थालेको छ । पालिकाले सञ्चालन गरेका मौरीपालन पाठशाला, अनुदान कार्यक्रम र प्राविधिक सहयोगका कारण मौरीपालन व्यवसाय विस्तार हुँदै गएको छ ।
“मौरी संरक्षण र जैविक विविधता, कृषकको आवद्धता समृद्ध फेदीखोलाको प्रतिबद्धता“ भन्ने मूल नारासहित बिहीबार फेदीखोला गाउँपालिका–१ कुभिण्डेमा आयोजित प्रथम फेदीखोला मौरी दिवस तथा कृषक पाठशाला समापन कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले मौरी संरक्षणलाई मानव जीवन, कृषि उत्पादन र वातावरणीय सन्तुलनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।
मन्त्री कार्कीले मौरीको संख्या घट्दै गए खाद्य प्रणाली र जैविक विविधतामा गम्भीर असर पर्ने उल्लेख गर्दै मौरीमैत्री वातावरण निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । उनले मौरीलाई कृषि उत्पादन र वातावरणीय सन्तुलनको आधारस्तम्भको संज्ञा दिँदै व्यावसायिक मौरीपालन वर्तमान आवश्यकता भएको धारणा राखे ।
मौरीबाट मह मात्र नभई रोयल जेली जस्ता उच्च मूल्यका उत्पादन लिन सकिने भएकाले किसानले व्यवसायिक उत्पादनमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । कृषकलाई सम्मानित पेशाकर्मीका रूपमा स्थापित गर्न प्रदेश सरकारले कृषि एम्बुलेन्स, रिटर्न टु भिलेज, उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, बाँझो जग्गामा खेती अनुदान र भूमि बैंकजस्ता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै फेदीखोला गाउँपालिकाले किसानका लागि सञ्चालन गरेका कार्यक्रमहरू उदाहरणीय रहेको बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोलामा मौरीपालनलाई सामूहिक र व्यवस्थित रूपमा विस्तार गरिएको जानकारी दिए । उनले मौरीपालनलाई फेदीखोलाको पहिचानका रूपमा विकास गर्ने लक्ष्यसहित आगामी दिनमा पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए ।
अध्यक्ष सुवेदीका अनुसार पालिकाभित्र एक फेदीखोला सेरेना मौरीपालन कृषक समूह र तीन वटा मौरीपालन आईपीएम कृषक पाठशाला सञ्चालनमा छन् । हाल समूहका २४ सदस्यसँग ७ सय ८५ घार मौरी रहेका छन् भने अन्य कृषकसहित पालिकाभर दुई हजारभन्दा बढी मौरीघार सञ्चालनमा छन् । पालिकाले एक हजार मौरीघार ७० प्रतिशत अनुदानमा वितरण गरेको छ भने करिब ७५ प्रतिशत कृषकले घरमै मौरीपालन गरिरहेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


