उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित

काठमाडौं :
स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।
फोकस नेपालद्वारा नव वर्ष २०८३ को अवसरमा काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मान विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले ग्रहण गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको प्रमुख आतिथ्यमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सम्मान प्रदान गरेका थिए।
“विद्याधनं सर्वधन प्रधानम्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विद्यालयले पर्याप्त भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाबाट गुणस्तरीय अध्ययन–अध्यापन, अतिरिक्त क्रियाकलापको प्रवर्द्धन तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्दै आएको मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यालयको रूपमा छनोट गरिएको जनाइएको छ।
विगतका वर्षहरूको परीक्षाफललाई प्रमुख आधार मानेर देशभरिका माध्यमिक विद्यालयमध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल भएको भन्दै आयोजक संस्थाले विद्यालयको योगदानको उच्च प्रशंसा गरेको छ।
सम्मान प्राप्त गरेसँगै विद्यालय व्यवस्थापन, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूमा उत्साह थपिएको छ। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्दै राष्ट्रको शैक्षिक विकासमा थप योगदान दिने विद्यालयका प्रिन्सिपल गौतमले प्रतिवद्धता व्यक्त गरेका छन् ।
Facebook Comments Box
TOP