भीरकोटमा विद्यार्थी बीमा कार्यक्रम सुरू

भीरकोट :

स्याङ्जाको पहिलो बालमैत्री स्थानीय तह भीरकोट नगरपालिकामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ कार्यक्रम लागू हुने भएको छ। नगरपालिकाभित्रका बालबालिकालाई सुरक्षित, स्वस्थ र शिक्षामैत्री वातावरण प्रदान गर्ने उद्देश्यले “विद्यार्थी बीमा कार्यक्रम” सञ्चालनमा ल्याउन लागिएको हो। यस कार्यक्रमको सुरूवात वडा नं ८ बाट हुने जनाइएको छ। वडा नं ८ का अध्यक्ष नन्दलाल खनालका अनुसार आगामी शैक्षिक सत्र २०८३ देखि वडा भित्रका सम्पूर्ण विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य बीमा गरिनेछ। उनले दिएको जानकारी अनुसार वडा नं ८ मा स्थायी ठेगाना भएका र भीरकोट नगरपालिकाभित्रका विद्यालयहरूमा अध्ययनरत सबै विद्यार्थीहरूले यो सुविधा पाउनेछन्।

अध्यक्ष खनालले बालमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिँदै उक्त कार्यक्रम अघि सारिएको स्पष्ट पारे। उनले भने, “हामीले वडामा बालबालिकाको समग्र विकास र सुरक्षाका लागि ‘विद्यार्थी बीमा’ कार्यक्रम सुरू गर्न लागेका हौं। दुर्घटना वा बिरामी पर्दा बालबालिकाले सहज रूपमा उपचार सेवा प्राप्त गर्न सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो।” यस कार्यक्रमअन्तर्गत बीमित विद्यार्थीहरूले तोकिएका स्वास्थ्य संस्थाबाट अधिकतम एक लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। यसले विशेषगरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रम कार्यान्वयनका लागि वडा नं ८ ले चालु आर्थिक वर्ष २०८२÷८३ मा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष खनालले जानकारी दिए। बीमा सेवा सञ्चालनका लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरिएको छ। यस सहकार्यले कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास लिइएको छ। “विद्यार्थीसँग बीमा” शीर्षकमा आयोजित एक कार्यक्रममार्फत उक्त योजनाको औपचारिक घोषणा गरिएको हो। पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले शैक्षिक सत्र २०८३ बाट कार्यक्रम कार्यान्वयनमा आउने घोषणा गरे।

कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले वडा नं ८ को पहललाई सराहना गर्दै यसले विद्यार्थीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले बालमैत्री अवधारणालाई व्यवहारमा उतार्न यस्तो कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे। नगर प्रमुख कर्माचार्यले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका अन्य ९ वटै वडामा समेत यो कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले भने, “यो कार्यक्रम सफल भएमा हामी यसलाई सम्पूर्ण नगरमा लागू गर्नेछौं, जसले सबै विद्यार्थीलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ”। उनले कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई अनुशासित र आज्ञाकारी भएर अध्ययनमा केन्द्रित हुन आग्रह गरे। साथै, आगामी शैक्षिक सत्रमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिने घोषणा पनि गरे।

कार्यक्रममा नगर शिक्षा अधिकृत विष्णु बहादुर भट्टराई, विद्यालयका प्रधानाध्यापक गीता रोका क्षेत्री, शिक्षक, विद्यार्थी, अभिभावक, बीमा कम्पनीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिखर इन्स्योरेन्स स्याङ्जाका व्यवस्थापक शंकर सुवेदीले कार्यक्रममा बोल्दै बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक र व्यवस्थापकीय सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। उनले बीमाको पहुँचलाई ग्रामीण तहसम्म विस्तार गर्नु कम्पनीको लक्ष्य रहेको पनि बताए।

त्यसैगरी, पत्रकार हिमाल न्यौपानेले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै अन्य स्थानीय तहले पनि यसबाट प्रेरणा लिनुपर्ने धारणा राखे। समग्रमा, भीरकोट नगरपालिका वडा नं ८ ले सुरू गर्न लागेको विद्यार्थी बीमा कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुरक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। यसले शैक्षिक वातावरणलाई अझ सुरक्षित र आकर्षक बनाउँदै बालमैत्री स्थानीय तह निर्माणमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP