वालिङमा नयाँ वर्ष लक्षित ओमकार ईभेन्ट हब फष्ट एक्स्पो हुने

वालिङ :
वालिङमा नयाँ वर्ष लक्षित ओँमकार ईभेन्ट हब फष्ट एक्स्पो हुने भएको छ । ओँमकार ईभेन्ट हब वालिङको आयोजनामा यहि चैत्र २६ गतेदेखि बैसाख २ गतेसम्म वालिङ खेलमैदानमा एक्स्पो हुने भएको हो । विषेश गरी नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गरिएको यो एक्स्पोले आन्तरिक पर्यटनको प्रर्वद्धन गर्दै यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरुको उजागर गर्नेछ ।
एक्स्पोका संयोजक विजय मल्लले नेपाली नयाँ वर्षलाई एउटा उत्सवको रुपमा मनाउने परम्पराको विकास गर्न आवश्यक रहेको भन्दै यसको ओँमकार ईभेन्ट हबले शुरुवात गरेको बताउनुभयो । संयोजक मल्लले भन्नुभयो, “नेपाली नयाँ वर्षलाई पनि धुमधामका साथ मनाउने परम्पराको विकास गर्दै आन्तरिक पर्यटनको पर्वद्धन गर्न एक्स्पोले सहयोग गर्नेछ ।
लागूऔषध नियन्त्रणका लागी सचेतना कार्यक्रम समेत एक्स्पोमा हुनेछ ।” मौलिक खाना, स्थानीय उत्पादन, गितसंगितका साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु हुने एक्स्पोमा ख्यातिप्राप्त व्याण्डहरुको लाईभ कन्र्सट समेत हुने संयोजक मल्लले बताउनुभयो ।
एक्स्पोमा कृषि तथा ताजा तरकारी प्रर्दशन, अदुवा, कफिको प्रर्दशनी, सूचना प्रविधिक तथा शैक्षिक सामाग्री प्रर्दशनी, खेल प्रतियोगिता, बाल उद्यान, अटोमोबाईल्स, पर्यटन मेला, हस्तकला प्रर्दशनी, टिकटक प्रतियोगिता, हरेक दिन विषेश सांगितिक कार्यक्रम, औद्योगिक व्यापार मेला हुने इभेन्टका सचिव विक्रम मल्लले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले स्थानीय प्रतिभा उजागर, स्थानीय उत्पादनको विक्रि गर्दै मनोरञ्जन लिने साझा मञ्च बनोस भन्दै एक्स्पो सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
दोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, भजन प्रतियोगिता, नौमति बाजा प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समेत संचालन हुनेछ । ७३ लाख खर्च हुने एक्स्पोमा खर्च कटाएर बचत रकमले वालिङ खेलमैदान मर्मत तथा राष्ट्रिय महिला लिग प्रतियोगितामा सहभागिताका लागी वालिङ नगरपालिकालाई सहयोग गर्ने इभेन्टका प्रबन्धक नवराज पौडेलले बताउनुभयो ।
एक्स्पोमा प्रवेश शुल्क १०० विद्यार्थीका लागी ७० र बेलुका हुने कन्र्सटको लागी ३०० शुल्क तोकिएको छ । पर्यटको प्रचुर संभावना रहेको स्याङ्जाको मध्य भागमा रहेको वालिङको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन यसअघि पनि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको भन्दै यो एक्स्पोले पनि सकरात्मक सन्देश प्रवाह गर्ने आयोजकको लक्ष्य छ ।
केहि समय अगाडि मात्रै स्थापना भएको ओँमकार इभेन्ट हबले यसअघि पनि सेभेन ए साईड भेन्ट्रास फुटबल प्रतियोगिता, नवौँ वालिङ महोत्सवमा कन्र्सटका कार्यक्रमहरु समेत संचालन गरिसकेको छ । दिउँसो १० देखि ७ बजेसम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रम र साङगितिक कार्यक्रम हुनेछ भने ७ देखि १० बजेसम्म लाईभ कन्र्सट हुने आयोजकले जनाएको छ ।
Facebook Comments Box
TOP