अर्थ र कृषि बिज्ञता नीतिमा रुपान्तरण गर्ने अभियानमा उम्मेदवार ढकाल
भवानी अधिकारी /स्याङ्जा :
सहकारी, बैंकिङ तथा कृषि क्षेत्रमा आफुलाई स्थापित गरिसकेका भरतराज ढकाल यसपटक संघीय सांसद बन्ने दौडमा छन् । फागुन २१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसतर्फका स्याङ्जा क्षेत्र नं. १ का एक सशक्त उम्मेदवार ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाको ६ फापरथुम स्थित एक सामान्य किसान परिवारमा जन्मेका ढकालसंग आज अर्थ तथा कृषि सम्बन्धी राम्रो बिज्ञता छ । लामो अनुभव छ । तिता मिठा विगत पनि छन् । सामाजिक सेवाभाव छ ।
सयौंलाई रोजगार दिएका छन् । अनाथ बालबालिकाको संरक्षक बनेर सहारा नेपाल संचालन गरे । मुठीदान संकलन गरेर र महायज्ञ गरेर अनाथ बालबालिकाको लालनपालन गरे । मानवअधिकारकर्मी र पत्रकार पनि हुन उनी । सबै मानवका अधिकार हनन् हुनुह्दैन सबैका समान हक हुनुपर्छ भन्ने उनी मानवअधिकार तथा शान्ति समाज स्याङ्जाका संस्थापक सभापति एवं पत्रकार महासंघ स्याङ्जाका संस्थापक सदस्य पनि हुन ।
वि.सं. २०५६ मा स्याङ्जा सदरमुकाममा रोयल सहकारी संस्था स्थापना भयोे । जसमा उनी प्रबन्धक बने । ब्यवसायि बनाउन सहकारीमार्फत स्याङ्जाका गाउँ–गाउँमा लघुवित्त कार्यक्रम संचालन गरिए । जसबाट धेरै महिला लाभान्वित भए । आयआर्जनमा जोडिए । कर्जा लगानी, ब्यवसाय संचालन र थोरै थोरै बचतले उनीहरुका देैनिकीमा परिवर्तन देखियो । शिक्षा, स्वास्थ्य र चेतनाको विकास भयो । जसका कारण आज धेरैको जीवनयापन सहज बनेको छ ।
सहकारीको जिम्मेवारीले ढकाललाई अझ उत्प्रेरित बनायो । बित्तिय क्षेत्रको दायरा फराकिलो बनाउनु पर्छ भन्ने सोचका साथ उनले ८ बर्षपछि स्याङ्जामै पहिलो बैंक खोले र आज सयौंलाई रोजगार दिलाउन सफल भए । एक करोड ३० लाख पुजी संकलन गरेर मुक्तिनाथ विकास बैंक संचालन गरे । बैंकको उनी संस्थापक कार्यकारी अधिकृत भए । आज सोही बैंकले राज्यलाई बार्षिक ७० करोड भन्दा धेरै कर तिर्दै आएको छ ।
“जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ ।” भन्ने भनाईलाई आत्मसाथ गर्दे घरघरमा बैंकको पहुँच बढाए । उनको बैंकिङ दर्शन सरल थियोः “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ।” कर्मचारीसहित घर–घर पुगेर लघुवित्त समूह बनाए, विपन्न परिवारलाई सहज सेवा दिए, महिलालाई व्यावसायिक तालिम र वित्तीय साक्षरता अभियान चलाए । जुन कार्यले बैंक राष्ट्रिय स्तरको अब्बल बैंक बन्न सफल बन्यो । महिला उद्यमशीलतामा योगदानका लागि युरोपियन माइक्रोफाइनान्स अवार्डसहित दर्जनौं राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भयो ।
आज मुक्तिनाथ विकास बैंकले देशभरका १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ, हजारौंलाई रोजगारी र उद्यमीलाई वित्तीय–गैरवित्तीय सहयोग पु¥याइरहेको छ । बैंकको हाल ८ अर्ब पुँजी र रु. १३६ अर्ब वासलातमा पुग्नु ढकालको कुशल नेतृत्व र सुशासनको परिणाम हो ।
उनी मुक्तिनाथ विकास बैंकको अध्यक्ष पनि भए । मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे । त्यसको पनि अध्यक्ष थिए उनी । लाखौं रुपैंया मासिक तलब, उत्तिकै सेवा सुबिधा पनि । ती सेवा सुबिधा त्यागगरी ढकालले स्याङ्जाको विकासका निम्ति राजनीतिमा होमिए । र, क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न सफल भए ।
कृषि बिना समृद्धी सम्भव हुदैन भन्ने मान्यता पत्ता लगाए । किसानकालागि वाधक कानून पहिचान गरे । र, अहिले नीति निर्माण गर्ने थलोमा पुग्ने अभ्यासमा आफुलाई उभ्याए ।
उनले भने, ‘ नेपालमा ३२ वटा कृषि नीति र २० वटा ऐन छन्, तर किसान सधैँ रोइरहेका छन । यो समस्याको समाधान कागजमा होइन, नीति निर्माण गर्ने थलो (संसद) मा पुगेर मात्र हुनेछ । उत्पादनको थलो र बजारको धरातल बुझेको व्यक्ति पुगेपछि मात्र सम्भव छ !’
उम्मेदवार ढकालले कृषि, अर्थ, बैंकिङ क्षेत्रको अनुभवी सोच बोकेर कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएका छन् । स्नातकोत्तरसम्मको अध्ययन, अर्थ र कृषि सम्बन्धी धेरै ज्ञानलाई अब संसदमा प्रयोग गर्ने तयारीमा छन ।
विस २०४७ सालमा नेपाल बिद्यार्थी संघबाट राजनीति सुरु गरेका ढकाल २०४६÷०४७ को जनआन्दोलनमा पृथ्वीनारायण क्याम्पसमा भएको बिद्यार्थी आन्दोलनका घाईते पनि हुन । नेपाली कांग्रेसको बित्तिय तथा सहकारी बिभागको केन्द्रिय सदस्य भै कामगरेको अनुभव पनि छ उनीसंग ।
कुशल योजनाकार, शालिन ब्यक्तित्व, सयौं युवाका रोजगारदाता उम्मेदवार ढकालले बिशेषत ः सुन्तला, कफी, लगायत अर्गानिक कृषि उपजहरु उत्पादनको उर्वरभूमि रहेको क्षेत्रलाई कृषि औधोगिक ग्रामको रुपमा स्थापितगरी रोजगारी तथा स्वरोजगारी सिर्जना गर्दे देशविदेशमा निर्यातगरी आर्थिक सामाजिक रुपान्तरणको सन्देश दिने उनका संकल्प छन् ।
स्याङ्जाको पहिचान सिद्धार्थ राजमार्ग बिस्तार र आँधीखोलाको जलउपयोग पहिलो प्राथमिकतामा रहेको उम्मेदवार ढकालको भनाई छ । उम्मेदवार ढकालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन भिजन टेन (दश संकल्प) अघि सारेका छन् । यसैगरी, सम्मानित भएर बाँच्न पाउने अधिकार, सपना देख्न सक्ने नेपाल, सम्पति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, आखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भर नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त बिधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र सम्मुन्नतीमा लम्कने नेपाल जस्ता प्रतिबद्धतापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी ५ बर्षे कार्यक्रम हुन ।
त्यसो त, मतदाता पनि बदलिएको कांग्रेस र नयाँ उम्मेदवार पाएपछि खुशी देखिएका छन् । दृढ संकल्पित, सफल ब्यक्तित्वका कारण क्षेत्र नं. १ का उम्मेदवार ढकाल एक बलियो पात्र बनेका छन् । कृषि र अर्थ सम्बन्धमा दुरदृष्टि राख्ने, परिकल्पना र कार्यान्वयनमा सफल र सक्षम देखिएका कारण ढकाललाई एक पटक अवसर दिने आम मतदाताको भनाई छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यस निर्वाचनमा कुल २ लाख ४८ हजार ८ सय १६ मतदाता छन् । पुरुष मतदाता १ लाख २२ हजार ४ सय ६४ र महिला मतदाता १ लाख २६ हजार ३ सय ५१ रहेका छन् । साथै अन्य समूहका एक जना मतदाता छन् । निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८ सय ८६ र क्षेत्र नं. २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता छन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


