स्याङ्जामा एचपिभी खोप अभियान
स्याङ्जा :
स्याङ्जा जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यसहित ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ । फागुन ४ र ५ गते दुई दिन चल्ने अभियानमार्फत जिल्लाभरका १ हजार ७ सय ९१ किशोरीलाई खोप लगाइने छ ।
जिल्लाका ९७ वडामा रहेका २ सय ३४ विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने तयारी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । खोप पूर्ण रूपमा सुरक्षित रहेको उल्लेख गर्दै कार्यालय प्रमुख रामबहादुर नेपालीले अभिभावक र किशोरीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।
खोप अभियानका क्रममा निजी तथा सामुदायिक दुवै खालका विद्यालयमै खोप केन्द्र स्थापना गरिने छ । यससँगै अघिल्लो वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि समेटिने जनाइएको छ । जिल्लामा अभियान एकै चरणमा सञ्चालन हुनेछ ।

अभियानलाई प्रभावकारी बनाउन २ सय ३४ स्वास्थ्यकर्मी र त्यत्तिकै संख्यामा स्वयंसेवक परिचालन गरिने छ । महिलाको शारीरिक तथा प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको सूचना अधिकारी विनोदप्रसाद भट्टले बताए । उनले पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगविरुद्ध सचेत रहँदै कोही पनि खोपबाट वञ्चित नहुनुपर्नेमा जोड दिए । अभियानमा छुटेकालाई थप एक सातासम्म समेट्ने व्यवस्था गरिने पनि जानकारी दिए ।
जिल्ला खोप समन्वय समितिका संयोजक मनिषकुमार महतोका अनुसार अभियानअघि नै प्रचारप्रसारलाई तीव्र बनाइएको छ, ताकि कुनै अवरोध नआओस् । उनले खोप सुरक्षित भएकाले भ्रामक सूचनामा नपर्न सबैलाई आग्रह गरे । ११ वटै पालिकामा वडास्तरमै खोप सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


