ट्राफिक प्रहरीद्धारा ५१ लाख राजश्व संकलन

प्रकाश डोटेल/स्याङ्जा :

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ५१ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिना (साउन–पौष) मा ट्राफिक प्रहरीले ५१ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ४१८ सवारी चालकलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लाको फेदीखोला, पुतलीबजार, आँधीखोला, भीरकोट, वालिङ, गल्याङ्, चापाकोट र मिर्मिस्थित ट्राफिक चेकपोष्ट मार्फत राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

कुल संकलित राजश्वमध्ये साउनमा एक हजार ४२३ सवारी चालकलाई कारबाही गरेर ९ लाख ९९ हजार र भदौमा एक हजार ३४४ सवारी चालकबाट १० लाख ५२ हजार राजश्व संकलन भएको थियो । असोज महिनामा ६१९ सवारी चालकलाई कारबाही गर्दा ५ लाख ६५ राजश्व संकलन भएको स्याङ्जाका ट्राफिक प्रहरी प्रमुख भुपेन्द्र प्रसाद गौलीले जानकारी दिए ।

त्यसैगरी कार्तिकमा ८४१ सवारी चालकलाई कारबाही गरेर ७ लाख दुई हजार राजश्व संकलन गरेको प्रहरीले मंसिरमा एक हजार १०२ सवारीबाट ९ लाख २४ हजार पाँच सय र पुष महिनामा एक हजार ७९ सवारी धनीलाई कारबाही गरेर ९ लाख १७ हजार पाँच सय राजश्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा पछिल्लो वर्ष राजश्व संकलन घटेको छ । आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा ८ हजार ८५१ सवारी चालकलाई कारबाही गर्दा ट्राफिक प्रहरीले ६८ लाख चार हजार राजश्व संकलन गरेको थियो ।

जिल्लास्थित विद्यालय र समुदायमा ट्राफिक नियमको नियमित संचेतनामुलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले राजश्व संकलनमा गिरावट आउनुमा जेनजी आन्दोलन मुख्य कारण रहेको जनाएको छ । भदौ २३ र २४ गतेको आन्दोलनपछि राजमार्ग केन्द्रित चेकिङ्ग कार्य प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP