सिद्धार्थ राजमार्ग सुधारलाई २० लाख डलर अनुदान

सरकारले ् सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंक बाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यो रकम करिब नेपाली ३० करोड रुपैंयाँ बराबर हो । सरकारले राजमार्ग सुधार योजनालाई अगाडि बढाउन आवश्यक पूर्वतयारीका कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त अनुदान स्वीकार गरेको हो । सरकारी स्रोतका अनुसार अनुदान रकम आयोजनाको पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयारी, प्राविधिक अध्ययन, वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन लगायतका तयारी कार्यमा खर्च गरिनेछ । बुटवल–पोखरा खण्डलाई सुरक्षित, भरपर्दो र आधुनिक सडकका रुपमा विकास गर्न यस निर्णयलाई महत्वपूर्ण मानिएको छ ।
सिद्धार्थ राजमार्ग नेपालको पश्चिम र मध्य भागलाई जोड्ने प्रमुख राष्ट्रिय राजमार्ग हो । विशेष गरी बुटवल–पोखरा खण्ड भौगोलिक रुपमा जटिल, पहाडी क्षेत्र हुँदै जाने भएकाले वर्षेनी पहिरो, सडक भासिने, साँघुरा मोड र दुर्घटनाको उच्च जोखिम रहँदै आएको छ । यस मार्गको सुधार र स्तरोन्नतिका लागि लामो समयदेखि सरोकारवालाहरुले माग गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकको निर्णयसँगै आयोजनाको तयारी प्रक्रिया औपचारिक रुपमा अगाडि बढ्ने भएको छ । पूर्वतयारी पूरा भएपछि निर्माण तथा स्तरोन्नतिको विस्तृत योजना तयार भई अन्तर्राष्ट्रिय वित्तीय सहयोगमार्फत कार्यान्वयनको चरणमा लैजाने सरकारको लक्ष्य रहेको बताइएको छ ।

सरकारका अनुसार एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने अनुदान ऋण नभई पूर्ण अनुदान भएकाले यसले राज्यको ऋणभार नबढाई गुणस्तरीय परियोजना तयारीमा सहयोग पु¥याउनेछ । यसलाई पूर्वाधार विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारीको सकारात्मक उदाहरणका रुपमा समेत हेरिएको छ । सिद्धार्थ राजमार्ग सुधार आयोजना सम्पन्न भएपछि बुटवल–पोखरा यात्रा समय उल्लेख्य रुपमा घट्ने, सडक दुर्घटनाको जोखिम कम हुने, ढुवानी लागत घट्ने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने यो मार्ग आर्थिक, सामाजिक र पर्यटन दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

यातायात विज्ञहरुका अनुसार हालको राजमार्ग साँघुरो, जोखिमयुक्त र मौसममा अत्यधिक प्रभावित हुने भएकाले स्तरोन्नति अपरिहार्य भइसकेको छ । “यो खण्ड सुधार नहुँदा मानवीय क्षति र आर्थिक नोक्सानी निरन्तर बढिरहेको छ,” भीरकोट नगरपालिकाका मेयर गोविन्दकुमार कर्माचार्यले भने, “अब अन्तर्राष्ट्रिय स्तरको अध्ययन र तयारीपछि आधुनिक मापदण्डअनुसार सडक निर्माण भए दीर्घकालीन समाधान मिल्नेछ ।” सरकारले यस आयोजनामा सुरक्षित सडक, वातावरणमैत्री संरचना, पहिरो न्यूनीकरण प्रविधि, सुरुङ तथा वैकल्पिक मार्गको सम्भाव्यता समेत अध्ययन गरिने जनाएको छ । यसले दीर्घकालमा सडकको दिगोपन र सेवा स्तर वृद्धि गर्ने विश्वास लिइएको छ ।

मन्त्रिपरिषद् बैठकले लिएको यो निर्णयलाई स्थानीय तहका जनप्रतिनिधि र व्यवसायीहरुले पनि सकारात्मक रुपमा स्वागत गरेका छन् । उनीहरुका अनुसार सिद्धार्थ राजमार्ग सुधारले पर्यटन व्यवसाय, कृषि उपजको बजार पहुँच, औद्योगिक ढुवानी र स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष लाभ पु¥याउनेछ । सरकारले आगामी दिनमा आयोजनासँग सम्बन्धित अन्य कानुनी, प्राविधिक र वित्तीय प्रक्रिया क्रमशः टुंग्याउँदै जाने जनाएको छ । अनुदान सम्झौतासँगै कामको दायरा, समयसीमा र कार्यान्वयन संयन्त्र स्पष्ट गरिनेछ । यस निर्णयसँगै सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै अघि बढ्ने नीति पुनः स्पष्ट पारेको छ । सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजना सफलतापूर्वक कार्यान्वयन भएमा यसले राष्ट्रिय सडक सञ्जाल सुधारमा महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
TOP