पहिलो वालिङ सडक खाना महोत्सव बुधबारबाट ।

वालिङ :

भोलि मंसिर १७ गते दिउँसो १ बजेदेखि प्रथम वालिङ सडक महोत्सव सुरू हुँदैछ। पतञ्जलीचोकदेखि पुलको मुखसम्म फैलिएको नयाँसडक क्षेत्रमा आयोजना हुन लागेको यो महोत्सवलाई भव्य र अविस्मरणीय बनाउन आवश्यक सबै तयारी पूरा भएको आयोजक वालिङ नगरपालिकाको भनाइ छ।

सडकमै खाने, सडकमै रमाउने ३ दिनसम्म सञ्चालन हुने महोत्सवमा दैनिक रूपमा रंगीन पटाका पड्काइँदै उत्सवको वातावरण झनै रोमाञ्चक बनाइनेछ। स्थानीयबासी, पाहुना तथा पर्यटक सबैका लागि खान–मनोरञ्जन–सांस्कृतिक प्रस्तुति एउटै स्थानमा अनुभव गर्ने उत्कृष्ट अवसर तयार भएको छ।

महोत्सवका मुख्य आकर्षणहरूमा स्थानीय र राष्ट्रिय कलाकारहरूको लाइभ प्रस्तुति, विभिन्न जातजातिको भेषभूषा तथा सांस्कृतिक झाँकी, विद्यालयस्तरीय नृत्य तथा प्रतिभा प्रदर्शन, स्थानीय उत्पादन, कृषिजन्य वस्तु र हस्तकला प्रदर्शनी, वालिङकै मौलिक परिकार तथा स्वादिष्ट सडक खानेकुरा रहेका छन् ।

वालिङ नगरपालिकाले आयोजना गरेको यो महोत्सवले स्थानीय अर्थतन्त्रमा गतिशीलता ल्याउने, घरेलु उत्पादनको प्रवर्द्धन गर्ने र वालिङलाई सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। व्यापारी, कलाकार, विद्यार्थी, स्थानीय समूह तथा पर्यटन व्यवसायीको उत्साहजनक सहभागिताले यसपटकको सडक महोत्सवलाई अझै विशेष बनाएको छ।

आयोजक वालिङ नगरपालिकाका प्रवक्ता तथा महोत्सवका व्यवस्थािक पदमराज गुरूङले भने, “साथी, परिवार, छिमेकी सबैलाई लिएर आउनुहोस्, रमाइलो पनि गरौँ, वालिङको पहिचानलाई अझ उजिल्याऔँ!”

महोत्सवको जानकारी दिन आयोजित पत्रक सम्मेलनमा वालिङ नगरप्रमुख कृष्ण खाँणले वालिङवासी र आगन्तुक सबैलाई वालिङ सडक महोत्सवमा सहभागी हुन निमन्त्रणा गर्दै महोत्सवले वालिङको आर्थिक चलायमान र भरपुर मनोरञ्जन लिन आग्रह समेत गरेका छन् ।

Facebook Comments Box
TOP