बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
प्रकाश डोटेल/स्याङ्जा :
नेपाली काँग्रेस स्याङ्जाले पूर्वबैंकर्स भरतराज ढकाललाई उम्मेद्वार सिफारिस गरेको छ । फागुन २१ मा हुने निर्वाचनका लागि काँग्रेस केन्द्रीय समितिले गरेको निर्देशन बमोजिम आकांक्षी उम्मेद्वारको रुपमा मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा पूर्वअध्यक्ष भरतराज ढकालको नाम सिफारिस गरेको हो ।
स्याङ्जाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं.–१ बाट सिफारिस भएका ११ जनामध्ये पूर्वबैंकर्स ढकालसँगै काँग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ्, पूर्वसांसद राजु थापा, गण्डकी प्रदेश काँग्रेस उपसभापति मेखलाल श्रेष्ठ, महासमिति सदस्य गोविन्द बहादुर रानाभाट, प्रेमराज पौडेल, ईन्द्रबहादुर रिजाल, बन्दना लम्साल, बुद्धिबहादुर राना ‘कुमार’ र व्यवसायी खुमाप्रसाद अर्याल सिफारिस भएको स्याङ्जा काँग्रेसले जनाएको छ ।
२०६३ मा स्थापित मुक्तिनाथ विकास बैंकका संस्थापक सिईओ ढकाल पछिल्लो समय मुक्तिनाथ कृषि कम्पनीका प्रबन्धक संचालक छन् । लामो समयदेखि काँग्रेस निकट रहदै आएका डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका पूर्वअध्यक्ष रहेका ढकाल जेनजी आन्दोलनपछि घोषित निर्वाचनमा भाग लिन आकांक्षी बनेका छन् । काँग्रेसबाट आकांक्षी बनेसँगै त्यस क्षेत्रका मतदाताले पूर्वबैंकर्स ढकालको उम्मेद्वारीलाई उत्साहका रुपमा लिइएको स्थानीय मतदाताले बताएका छन् ।
२०५६ सालमा जिल्ला सदरमुकाममा पुतलीबजारमा रोयल सहकारीको प्रबन्धक बनेर वित्तीय क्षेत्रमा प्रबेश गरेका ढकाल २०६०÷६२ मा जिल्ला बाल कल्याण समिति र मानव अधिकार तथा शान्ति समाजको अध्यक्ष बनेका थिए । अभिभावक विहिन टुहुरा बालबालिकाको संरक्षणमा सहारा समूह संचालन गरेका ढकाल मुक्तिनाथ विकास बैंकको दुई कार्यकाल अध्यक्ष बन्न सफल भए ।
‘ग्रामिण क्षेत्रमा सहकारी र जिल्लाबाट बैंक स्थापना गरेर विकास बैंकतर्फ राष्ट्रियस्तरको एक नंम्बर बैंक बनाउन सफल ढकाल सरको वित्तीय सफलता राजनीतिसँग जोडिनु आवश्यक थियो ।’ स्थानीय व्यवसायी बद्रि श्रेष्ठले भने, ‘रोजगारी सृजनासँगै सरले वित्तीय क्षेत्रमा प्राप्त गरेको सफलता राजनीतिक रुपमा यहाँका मतदाताले उपभोग गर्न पाउनुपर्छ ।’ काँग्रेसबाट सिफारिस भएकामध्ये जेनजी आन्दोलनको उद्देश्य, मर्म र भावनाको प्रतिनिधित्व गर्न सक्ने उम्मेद्वार ढकाल मात्रै भएको श्रेष्ठको बुझाई छ ।
मुक्तिनाथ विकास बैंकमार्फत झण्डै एक हजार ६ सय र कृषि कम्पनीमा करिब दुई सय जनालाई प्रत्यक्ष र उघुवित्त मार्फत लाखौं महिलालाई रोजगारी दिलाउन सफल पूर्वबैंकर्स ढकाल पछिल्लो समय कृषि उत्पादन बढाएर नेपालको आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने अभियानमा छन् । कृषि पेशालाई मर्यादित बनाउँदै दशैमै लाखौ रोजगारी सृजना गर्न सकिनेमा ढकाल विश्वस्त छन् ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था र कृषि कम्पनी मार्फत रोजगारी सृजना र आर्थिक विकासका क्षेत्रमा गरेको कामको अनुभवलाई राजनीति रुपमा उपयोग गर्न सकिनेमा ढकाल दृढ देखिन्छन् । वित्तीय क्षेत्रको अनुभवले राजनीति मार्फत नागरिकको आर्थिक र सामाजिक जीवनस्तरमा परिवर्तन ल्याउन नीतिगत सुधारका लागि आफू आकांक्षी उम्मेद्वार बनेको ढकालले सुनाए । नीतिगत सुधार विना नेपालको दिगो आर्थिक विकास हुनै नसक्ने पूर्वबैंकर्स ढकालको जिकिर छ ।
काँग्रेसले ढकाललाई उम्मेद्वार बनाए वित्तीय क्षेत्रको अनुभव र कृषि पेशामा ल्याउन सकिने परिवर्तनबाट नेपालको आर्थिक क्षेत्र, विकासको अवस्था र जिल्लाको वस्तुस्थितीलाई सुधार गर्न सकिनेमा मतदाता दिपक लम्साल ढुक्क बुझिन्छन् । व्यक्तिगत रुपमा उम्मेद्वारका आकांक्षी ढकालले हासिल गरेको आर्थिक प्रगति र अनुभव आमनागरिकका लागि प्रेरणादायी बन्ने गरेको उद्योग वाणिज्य महासंघमा लामो समय काम गरेका लम्सालले दाबी गरे ।
२०६० कै सयममा आँधीखोला गाउँपालिका–६ का विद्यालयमा कम्प्यूटर शिक्षा प्रदान गरेका भद्र र शालिन छविका ढकालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले रुद्र–जमुना शैक्षिक प्रतिठानबाट गरिब परिवार तथा जेहेन्दार विद्यार्थी र विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् । मुक्तिनाथ फाउण्डेशनका अध्यक्ष समेत रहेका ढकालले वातावरण संरक्षणमा विभिन्न काम गर्दै आएका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


