फेदीखोलामा ट्रस ब्रिजसँगै झोलुङ्गे पुल निर्माण

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जाको फेदीखोलामा ट्रस ब्रिज र झोलुङ्गे पुल निर्माण गरिएको छ । फेदीखोला गाउँपालिका वडा नं.–२ को लामाचौरमा लामाचौर–स्थानचौर जोड्ने ट्रस ब्रिज र लामाचौर–चनौटे गाउँ जोड्ने गरी सेतीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो ।

संघीय सरकारको क्षेत्रगत भोलुङ्गे पुल कार्यक्रम अन्र्तगत गाउँपालिकाको साझेदारीमा पुल निर्माण गरिएको हो । ३२ मिटर लम्बाईको ट्रस ब्रिल ३३ लाख ४८ हजार २०५ रुपैयाँको लागतमा निर्माण गरिएको छ भने ९० मिटर लम्बाई रहेको झोलुङ्गे पुल ७५ लाख ४३ हजार १७० रुपैयाँको लागतमा निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

संघीय सरकारको ८५ प्रतिशत, गाउँपालिकाको १३ प्रतिशत र उपभोक्ताको दुई प्रतिशत लागत साझेदारीसँगै स्थानीयको श्रमदानमा पुल निर्माण गरिएको छ । अन्धाअन्धी सामुदायिक सेवा केन्द्र स्याङ्जाको सामाजिक र प्रविधिक सहयोग तथा समन्वयमा पुल निर्माण भएको सेवा केन्द्रका कार्यालय प्रमुख एकनारायण सापकोटले जानकारी दिए ।

लामाचौरमा ट्रस ब्रिज र झोलुङ्गे पुल निर्माण भएपछि स्थानचौरतर्फ एक हजार १६ र चनौटे गाउँतर्फ ७७० स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् । वर्षातको समयमा लामाचौरबाट स्थानचौर र चनौटे गाउँ जाउआउमा ठूलो समस्या भोग्दै आएका स्थानीय पुल बनेपछि खुसी भएका छन् । मानिस आउजाउमा मात्रै समस्या नभएर पुल बनेसँगै स्थानीय उत्पादन समेत ओसारपसारमा सहज बनेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ बाट बन्न थालेको झोलुङ्गे पुल झण्डै तीन वर्षको अन्तरालमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । नबनिर्मित पुलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष घनश्याम पौडेलले स्थानीय तहबाटै सानादेखि ठूला विकास परियोजनाहरु संचालन हुँदा स्थानीयले रोजगारीसँगै सरल तबरबाट सुविधा उपभोग गर्न पाएको बताए ।

फेदीखोलाको लामाचौर, स्थानचौर र चनौट गाउँका अधिकांश स्थानीय कृषिजन्य उत्पादनमा केन्द्रित हुँदै आएका छन् । सेतीखोलाको पुल संचालनमा आएसँगै गाउँमा उत्पादित मौसमी बेमौसमी तरकारी, फलफूल र मासुजन्य उत्पादनको बजारीकरणमा स्थानीयको सहज पहुँच पुगेको गाउँपालिकाले जनाएको छ ।

पुलहरूको नियमित अनुगमन र मर्मतका लागि गाउँपालिकाले समिति गठन गरेको छ । लामाचौर–स्थानचौरमा स्थानीय गंगाप्रसाद गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति र लामाचौर–चनौटे पुलको हेरचाह गर्न इमानसिंह गोदारको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको छ । समितिले पुलको संरक्षण, आवश्यक मर्मत सम्भारको समन्वय गर्नेछ ।

Facebook Comments Box
TOP