शितलाका विद्यार्थीलाई न्यानो कपडा
स्याङ्जा :
स्याङ्जाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका वडा नं.–५ पौवैगौडेको गौडेस्थित शितला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बैंकले न्यानो कपडा वितरण गरेको छ । विद्यालयका जेहेन्दार झण्डै १४५ विद्यार्थीलाई बैंकले करिब एक लाख ५० हजार मुल्य बराबरको न्यानो कपडा वितरण गरेको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले बैंकले आफ्ना सेवाग्राही र कार्यक्षेत्रका सबै पक्षसँग हातेमालो गर्दै अगाडी बढ्ने बताए । बैंकलाई माथि उठाउन समाजका हरेक नागरिकको समान भूमिका रहेको स्मरण गर्दै संचालक लम्सालले समाजको त्यहि वर्गको उत्थानमा बैंकले काम गर्दै आएको सुनाए ।
बैंक तथा वित्तीय संस्थाहरुले नाफा आर्जनका गतिविधिमा मात्रै आफूलाई सिमित नराख्न आग्रह गर्दै स्याङ्जा बहुमुखी क्याम्पसका संस्थापक समेत रहेका लम्सालले समाजका गरिब, जेहेन्दार, मेहनती विद्यार्थी र लगनशिल, कर्मशिल वर्गका मानिसलाई सहयोग गर्दै अगाडी बढ्न सुझाए ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख ऋषि ढकालले मुक्तिनाथ विकास बैंकले आफ्नो सेवालाई उच्च प्राथमिकतामा राखेर नागरिकको समयानुकूल सेवामा खटिरहेको स्पष्ट पारे । उनले समाजका प्रत्येक वर्गको उत्थान र प्रगतिमा मुक्तिनाथ बैंकले सहकार्य गर्दै जाने जनाए ।
सोहिअवसरमा विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरुको साझा मञ्च पूर्वविद्यार्थी मञ्चको सक्रियतामा विद्यार्थीलाई खेलकुद सामग्री हस्तारन्तरण गरिएको थियो । करिब १० हजार मूल्य बराबरको खेलकुद सामग्री विद्यालय मार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।
विद्यालयका पूर्वविद्यार्थी तथा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत तिल बहादुर गुरुङ्को अगुवाईमा खरिद गरिएको भलिबल, नेट सहितका खेलकुद सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयका पूर्वविद्यार्थी तथा युवा समाजसेवी दिपेन्द्र आलेले जानकारी दिए ।
पुतलीबजार नगरपालिका वडा नं.–५ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलराम दोरङ्गाले स्वागत गरेका थिए भने विद्यालयका शिक्षिका अप्सरा कार्की गोदारले कार्यक्रम संचालन गरेकी थिईन् । त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका पदाधिकारी र सदस्य तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
२०६३ सालदेखि स्याङ्जाबाट कारोबार शुरु गरेको मुक्तिनाथ विकास बैंक छोटो समयमै राष्ट्रियस्तरका बैंकमध्ये अब्बल र उत्कृष्ट बन्न सफल भएको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब नाघेसँगै बैंकले वाणिज्यस्तरको बैंक बन्ने प्रक्रिया थालेको छ ।
समाचार
थप सामाग्री
सवारी दुर्घटनापछि विवाद हुँदा तीन जना घाइते, एक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक…


