भीरकोटको ‘देउपुजे ढुङ्गा’ पर्यटकीय क्षेत्र
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको भीरकोट नगरपालिका वडा नं.–३ भतेरपाटास्थित ‘देउपुजे ढुङ्गा’ पछिल्लो समय पर्यटकीय क्षेत्र बन्दै गएको छ । नगरपालिकाले नगर क्षेत्रका पर्यटकीय क्षेत्रमा नाम समाबेश गरेपछि धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको ‘देउपुजे ढुङ्गा’ पर्यटकीय क्षेत्र बन्दै गएको हो ।
परापूर्व कालमा केपुल ढुङ्गाको नाउँले स्थानीयमा परिचित उक्त धार्मिक तथा पर्यटकीय स्थलबाट स्याङ्जासँगै तनहुँ, कास्की, पर्वत र पाल्पाका मनोरम दृश्यको दृश्यावलोकन गर्न पाईन्छ । ठूलो सामुदायिक वनको काखमा रहेको देउपूजे ढुङ्गाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रंखला १८० डिग्रीमा सहजै अवलोकन गर्न सकिन्छ ।
स्थानीयले देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुपमा पुजाअर्चना गर्दै आएका छन् । नगरपालिकाको सहयोगमा देउपुजे ढुङ्गाको काखमा शिवको मन्दिर निर्माण गरिएको छ । पर्यटकको आकर्षण बन्दै गएको मन्दिर परिसरमा बालाचतुर्दशीमा सत्बिज छर्न श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गरेको स्थानीय शिक्षक केश सार्कीले जानकारी दिए । बालाचतुर्दशीमा भीरकोट, वालिङ र पुतलीबजार नगरपालिका र आसपासका स्थानीयहरू सत्बिज छर्न आउने गर्दछन् ।
भतेरपाटा र आसपासका क्षेत्रमा लामो समयसम्म खडेरी परेमा स्थानीयहरू भेला भएर बाजा बजाएर ढुङ्गाको पुजा गर्दै भगवानसँग पानी माग्ने प्रचलन रहेको थियो । २०५५ सालसम्मै प्रचलन कायमै रहेको शिक्षक सार्कीले सुनाए । लामो खडेरीको समयमा देउपूजे ढुङ्गामा पूजाआजा गरेपछि वर्षा हुने भएपछि ढुङ्गालाई रहस्यमय मानिदै आएको छ ।
औसत २५ मिटर गोलाई र १५ मिटर उचाइको अजंगको ढुङ्गा डाँडामा अवस्थित छ । पारिलो डाँडामा भएपनि पत्थर मुनिको भागमा बाह्रै महिना चिसो पानी पाइन्छ । वर्षायाममा भने यो ढुङ्गाबाट मूल फुट्ने गरेको स्थानीय किसान केसीले बताए । बयरघारीबाट करिब १० किलोमिटरको पक्की र कच्ची सडकको यात्रापछि पुगिने ठाउँ एकदमै रमणीय छ । त्यहाँबाट भीरकोटका सुन्दर फाँटहरू, नागबेली परेर बगेको आँधीखोला देख्न सकिन्छ ।
भतेरपाटा पुग्ने पर्यटकको सुविधाका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरेर प्रतीक्षालय, आरामदायी बेञ्च र शुद्ध खानेपानीको व्यवस्थापन गरेको छ । समुन्द्र सतहदेखी एक हजार ५ सय मिटरको उचाईमा रहेको स्थान बनभोज, पदयात्रा र दृश्यावलोकनका लागि आन्तरिक तथा स्थानीय पर्यटकहरूको रोजाइमा पर्ने गरेको केसीले जनाए ।
भीरकोट नगरपालिकाले देउपुजे ढुङ्गालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पछिल्लो तीन वर्षदेखि वर्षेनी बजेट विनियोजन गर्दै आएको छ । नगरपालिकाकै पहलमा आवश्यक संरचना बन्दै गएको छ भने आन्तरिक र बाह्यि पर्यटक बढाउन थप संरचना बनाउनु आवश्यक रहेको नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


