कोदो उत्पादन र बजारीकरणमा सक्रिय फेदीखोला गाउँपालिका

राधाकृष्ण डुम्रे /वालिङ :

स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यालयदेखि सरकारी कार्यालयसम्म कोदोको परिकार अनिवार्य गरेको छ । पालिकाले हप्ताको दुई दिन विद्यालय पोषण कार्यक्रमअन्तर्गत कोदो दिवा खाजा अनिवार्य गरेको छ भने स्थानीय संस्थाहरूमा कोदो परिकारको प्राथमिकता र प्रयोग गर्ने नीति बनाएको हो ।

स्थानीय उत्पादनको प्रवर्धन, विद्यार्थीहरूको पोषण सुधार, कृषकहरूको आम्दानी अभिवृद्धि तथा सामुदायिक स्वाभिमानको वृद्धि गर्ने योजनाका साथ कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोदोको प्रवर्धनले स्थानीय उत्पादन बढ्नुको साथै खाद्य सुरक्षा, कृषक आम्दानी तथा स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण सहयोग पुग्ने छ ।”

पहिलो राष्ट्रिय कोदो दिवस २०८२ को अवसर पारेर पालिकाले कोदोको संरक्षणसँगै उत्पादन र बजारीकरणको काम सुरु गर्न लागेको अध्यक्ष सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले स्थानीय उत्पादनको प्रवर्धन गर्ने र बजारीकरणका लागि कोदाको परिकार अभियान सुरु गरेका हौं ।’’

गाउँपालिकाले स्थानीय उत्पादन कोदो लाई बहुपयोगी, पोषणयुक्त तथा आर्थिक रूपमा सम्भावनायुक्त खाद्यान्नको रूपमा प्रवर्धन गर्न विभिन्न नीति अगाडि सारेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले २०७७ सालदेखि कक्षा ६ को स्थानीय पाठ्यक्रम “हाम्रो फेदीखोला” अन्तर्गत “कोदोः बहुपयोगी खाद्यान्न” शीर्षक समावेश गरी विद्यार्थीहरूलाई यसबारे सचेत गराउँदै जनाएको छ ।

गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालय तथा सरकारी निकायमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरू ढिँडो, मम, तावा रोटी, पुवा,सेलरोटी कोदोको चिउरा, हलुवा, सूप आदि अनिवार्य रूपमा दिवा खाजाका रूपमा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । कोदो दिवसको अवसर पारेर साउन १६ गतेबाट यस्तो अभियान चलाएको उहाँको भनाइ छ ।

यस्तै राष्ट्रिय कोदो दिवसको अवसर पारेर शुक्रबार फेदीखोला गाउँपालिका–१, रामकोटमा कोदो रोप्ने कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ ।

पालिकाले कोदोबाट उत्पादित विभिन्न परिकारहरूको प्रदर्शनी र उपयोग मार्फत यसको बहुउपयोगी पक्ष प्रस्तुत गर्दै समुदायमा चेतना अभिवृद्धिको अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।

पाँच वडा रहेको फेदीखोला गाउँपालिकाको नौ हजार ४३६ रोपनी क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ जसमा १८ हजार ६९२ मुरी कोदो उत्पादन हुँदै आएको पालिकाले जनाएको छ । पालिकाको तेस्रो प्रमुख बालीमा पर्ने कोदो बालीको उत्पादनलाई बढाएर चालु आर्थिक बर्ष २०८२/८३ मा २८ हजार ६४० मुरी उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP