गल्याङको केदारनाथमा पुग्न बन्यो पदमार्ग

वालिङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ७ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल केदारनाथ मन्दिरमा पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ । गल्याङ नगरपालिकाले दुई आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट यो पदमार्ग निर्माण भएको हो ।
पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकका अनुसार धार्मिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस मन्दिरमा सहज पहुँचका लागि पदमार्ग निर्माण गर्न अपरिहार्य थियो । “उहाँले भन्नुभयो, पौराणिक मान्यता बोकेको यस मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन  गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट यस मन्दिरमा सहज पदमार्ग निर्माण आवश्यक थियो ।” सुनौली–पोखरा सिद्धार्थ राजमार्गसंग जोडिएको चिउरी पुलमा आउने पर्यटकहरुलाई पनि सहज रुपमा मन्दिरसम्म पुग्न पदमार्गले भुमिका खेल्ने उहाँको विश्वास छ ।
पदमार्ग निर्माणका लागि पहिलो चरणमा आर्थिक वर्ष २०८०÷०८१ मा दश लाख बजेटबाट १६५ मिटर लम्बाई र २ मिटर चौडा पदमार्ग निमार्ण गरिएको थियो । यसले मन्दिरसम्म पुग्ने प्रारम्भिक मार्गलाई सुगम बनाएको थियो । दोस्रो चरणमा गत आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित रु १० लाख बजेटले २२० मिटर लामो र डेढ मिटर चौडा पदमार्ग निर्माण गरिएको छ । साथै दर्शनार्थी तथा पर्यटकहरुको सुरक्षाका लागि स्टिल रेलिङ समेत जडान गरिएको उहाँले जानकारी दिनुभयो ।
केदारनाथ मन्दिर दर्शन तथा पुजा गरेमा वर्षदिनमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । यहाँ विशेषगरी साउनको सोमबार, शिवरात्रीमा विशेष पुजा गर्ने प्रचलन रहेको छ । मन्दिर संरक्षणका लागि वि।स। २०७२ सालमा केदारनाथ धार्मिक मन्दिर तथा पर्यटन विकास समिति निर्माण गरी मन्दिरलाई एउटा नयाँ स्वरुप दिन सुरु गरिएको थियो । २०७२ सालमा महायज्ञ सञ्चालन गरि सवा २ करोड रकम संकलन गरेर मन्दिर संरचना निर्माण तथा भवन निर्माण गरिएको स्थानिय समेत रहनुभएका अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
पदमार्ग निर्माण भएसंगै मन्दिर दर्शनका लागि आउने भक्तजनको चहलपहलमा वृद्धि हुने र केदारनाथको महत्व र यसको प्रचारप्रसारमा समेत टेवा पुग्ने विगत १ वर्षदेखी मन्दिरको पुजारीका रुपमा रहनुभएका स्थानिय ६१ वर्षिय कासीराम सापकोटाले बताउनुभयो ।
चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान शिवको प्रतिमूर्ति देख्न सकिन्छ । प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दी, पोखरी लगायतका आकृति यहाँ देख्न पाइने उहाँले बताउनुभयो । मन्दिर जानको लागि पौने ४ सय मिटर पदमार्ग निर्माण गरिएको केदारनाथ मन्दिर पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताउनुभयो । सिदार्थ राजमार्ग संग जोडिएको चिउरी पुलबाट ८ सय मिटरको पैदल यात्रा गरी मन्दिरसम्म पुग्न सकिन्छ । यो पदमार्ग निर्माणले मन्दिरमा आउने भक्तजन तथा पर्यटकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Facebook Comments Box
TOP