“समृद्ध गाउँपालिका, सुखी नागरिक” अभियानमा कालीगण्डकी गाउँपालिका

स्याङ्जा :
कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि “समृद्ध गाउँपालिका, सुखी नागरिक” भन्ने दीर्घकालीन लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष खिम थापाले गाँउपालिकाको १७ ओैं अधिवेशन तथा गाउँसभा समक्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रूपमा लिएर नागरिकको जीवनरक्षा सुनिश्चित गर्ने नीति अवलम्बन गरेको छ। सबै नागरिकलाई १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा, कालीगण्डकी अस्पतालमा विशेषज्ञसहितको निःशुल्क उपचार सेवा, गर्भवती महिलाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा, दीर्घरोगी तथा अपाङ्ग, जेष्ठ नागरिक र विपन्न वर्गका लागि विशेष सुविधा निरन्तरताको घोषणा गरिएको छ। साथै, मानसिक रोगीका लागि संरक्षण गृह र पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन गरिनेछ।
शिक्षा क्षेत्रमा, सामुदायिक विद्यालयमा अध्ययनको गुणस्तर अभिवृद्धि गर्न स्थानीय पाठ्यक्रम निःशुल्क उपलब्ध गराउने, ICT प्रयोगशाला, मन्टेस्वरी कक्षा र विद्यालय फुलवारी कार्यक्रमलाई निरन्तरता दिइनेछ। सरकारी सेवा लिने जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने नीति कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ।

कृषि क्षेत्रमा निर्वाहमुखी खेतीलाई व्यवसायिक बनाउँदै सहकारीमार्फत अनुदान वितरण, शीत भण्डारण, जैविक मल प्रवर्द्धन, ड्र्यागन फ्रुट, पुष्पखेती, करेसाबारी, नर्सरी, र ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिनेछ। बाँझो जमिनलाई प्रयोगमा ल्याउन भूमि बैंक स्थापना गरी जरिवाना समेत लगाइने उल्लेख गरिएको छ।
रोजगारी सृजना, युवा लक्षित सिपमूलक तालिम, ग्यास रहित पालिका निर्माणका लागि विद्युतीय चुल्हो प्रवर्द्धनजस्ता कार्यक्रमले दीगो विकासको आधार तयार गर्ने अध्यक्ष थापाको भनाइ छ। नीति तथा कार्यक्रममा समावेशी, न्यायपूर्ण र परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिइएकाले यो वर्ष कालीगण्डकी गाउँपालिकाको नीति व्यवहारिक र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…