गल्याङमा “तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२”कार्यक्रम सम्पन्न

गल्याङ :

स्याङ्जाको गल्याङ नगरपालिकामा शिक्षा र विद्यार्थीहरूको प्रतिभा विकासलाई विशेष प्राथमिकतामा राख्दै तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको “गल्याङ ट्यालेन्ट सो” कार्यक्रमले यस वर्ष पनि विद्यार्थीहरूको बहुआयामिक प्रतिभा उजागर गरेको छ । गल्याङका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले पाठ्यपुस्तक बाहेकका अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सक्रिय गराउन ठूलो भूमिका खेलेको छ । यसले गल्याङको शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउने र विद्यार्थीहरूलाई बहुआयामिक रूपमा विकास गराउने उद्देश्य राखेको छ ।

गल्याङ नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष गुरु प्रसाद भट्टराईको अध्यक्षतामा नगरपालिकाको आयोजनामा सञ्चालन भएको “तेस्रो गल्याङ ट्यालेन्ट सो २०८२” कार्यक्रम सम्पन्न भएको छ ।  समापन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले कार्यक्रममा विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमता र प्रतिभाको प्रस्फुटन गराउन यो कार्यक्रम आयोजना गरिएको बताउनु भयाे । उहाँले विद्यार्थीहरूलाई केवल कितावी ज्ञानमा सीमित नराखी अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताउनु भयाे । गल्याङको शिक्षालाई अझ उत्कृष्ट बनाउन सबैले योगदान दिनुपर्नेमा भट्टराईको जोड छ ।

दुई दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा एकल पठन सीप प्रतियोगिता नेपाली (कक्षा ३–५), एकल पठन सीप प्रतियोगिता अंग्रेजी (कक्षा ३–५), हस्तलेखन प्रतियोगिता नेपाली (कक्षा ३–५), हस्तलेखन प्रतियोगिता अंग्रेजी (कक्षा ६–८), चित्रकला प्रतियोगिता (कक्षा ४–८), वक्तृत्वकला प्रतियोगिता (कक्षा ६–१२), कविता लेखन तथा वाचन प्रतियोगिता (कक्षा ८–१२), एकल हाजिरी जवाफ प्रतियोगिता (कक्षा ८–१२) र एकल गायन प्रतियोगिता (कक्षा ८–१२) गरी ९ विधा समावेश रहेका थिए ।

त्यस्तै उक्त प्रतियोगितामा नगरपालिकाका ४८ विद्यालयले सहभागिता जनाएको शिक्षा शाखा प्रमुख हिमाल भण्डारीले जानकारी दिए । उक्त कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर शिक्षा समिति सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी नगरपालिकाले यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षाको प्रगति र विद्यार्थीहरूको सृजनशीलतालाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP