केदारनाथ धाम निर्माणका लागि वालिङमा महायज्ञ सुरु ।

राधाकृष्ण डुम्रे/ वालिङ :
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ । सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीको प्रसङ्ग प्रति लक्षित गर्दै उपप्रधानमन्त्री सिंहले पूर्वाधार विकास योजनावद्ध रुपमा गरिँदै आएको बताउनु भयो ।
स्याङ्जाको वालिङमा श्रीमद् भागवत सप्ताह ज्ञान तण्डुलाचल तथा धार्मिक अनुष्ठानको शुभारम्भ गर्नु हुँदै मन्त्री सिंहले तीन तहको सरकार, जनप्रतिनिधि र नागरिको सहभागितामा विकास प्रभावकारी हुने स्पष्ट पार्नु भयो ।
नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले समाजलाई व्यवस्थापन गर्न धर्मले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले भन्नुभयो,“धर्मले मानिसलाई संस्कार र संस्कृति सिकाउछ र आफै निर्णय गर्न सक्ने बनाउछ ।” गर्न हुने र नहुने काम आफै छु्ट्याउन सक्षम बनाउनु धर्मको महत्वपूर्ण पक्ष भएको उहाँको भनाई छ ।
पछिल्लो समय समाज नकारात्मक भएको तर्फ लक्षित गर्दै मन्त्री सिंहले समाजलाई सकारात्मक बनाउन धर्मको महत्वपूर्ण योगदान रहेको स्पष्ट पार्नु भयो ।
स्याङ्जासँग आफ्नो पुरानो साईनो रहेको भन्दै सिंहले जिल्लाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
महायज्ञ शुभारम्भका अवसरमा संघीय सांसद राजु थापाले सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीका लागि सरकारले प्राथमिकता दिनु पर्ने बताउनु भयो । जिल्लामा धेरै धार्मिक पर्यटकीय क्षेत्र रहेको भन्दै सांसद थापाले यिनीहरुको संरक्षण र प्रचारप्रसारमा सबैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
यस्तै गण्डकी प्रदेश सभाका सांसदहरु सरस्वती तिवारी र महेश भट्टराई पूर्व सांसदहरु मेखलाल श्रेष्ठ र भागवतप्रकाश मल्ल ,समाजसेवी तथा उद्योगी डोलराज शर्मा पंगेनी,वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे,खगेन्द्र प्रसाद अर्याल,भूपराज बगाले लगायतले धर्मसंस्कार र महायज्ञको बारेमा बोल्नु भएको थियो ।
स्याङ्जाको वालिङमा रहेको केदारनाथ क्षेत्रलाई शिव धाम निर्माण गर्ने योजनाका साथ वालिङमा महायज्ञ सुरु गरिएको हो ।
योगी नरहरी नाथद्वारा नामाकरण गरिएको वालिङ नगरपालिका–८ को केदारनाथ मन्दिरलाई स्त्तरोन्नती गरी धाम निर्माण गर्ने दीर्घकालिन योजना रहेको महायज्ञ आयोजक समितिका संयोजक दिलिपप्रताप खांणले बताउनु भयो । सिद्धार्थ राजमार्गसँगै रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आयोजकको भनाई छ ।
उपप्रधानमन्त्री सिंहले केदारनाथ मन्दिर तथा प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गह्रौंसुरमा रहेको कालिका मन्दिरको समेत दर्शन गर्नु भएको छ ।
विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले महायज्ञ पश्चात धाममा धर्मशाला,क्रियापुत्री भवन, अन्न क्षेत्र तीर्थयात्री निवास,संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकुलम) आदि निर्माण गरिने बताउनु भयो । महायज्ञमा पण्डित पराजुलीले सङ्गितमय कथा बाचन गर्नुहुने छ ।
तस्बिर ः
महायज्ञमा आफ्नो भनाई राख्नु हुँदै उपप्रधानमन्त्री सिंह । तस्बिर ः राधाकृष्ण डुम्रे ।

Facebook Comments Box
TOP