सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
वालिङ :
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाले साहित्यकार देवी प्रसाद वनवासीलाई सम्मान गरेको छ । प्रतिष्ठानले २४ औं स्थापना दिवसको अवसरमा वालिङ नगरपालिका सभाहलमा बिहीबार गरिएको सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रममा वनवासीलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । नेपाली लोक साहित्य र संस्कृति संवद्र्धनको क्षेत्रमा निरन्तर अन्वेषण र प्रकाशन गरी संस्कृतिको विकासमा प्रोत्साहित गर्नुभएकाले सम्मान गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल जिटी र डा. अच्युत शरण अर्यालले तयार पार्नुभएको ‘आँधीखोले लोकगीतका साधकहरू’ शिर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । संस्थापक जिटीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा स्याङ्जेली अग्रज लोक गायकहरू चन्द्र बहादुर सेन मसाने, चन्द्रकान्त पाण्डे पाँडे बा, चेतन कार्की, कुलबहादुर राना, डिलबहादुर श्रेष्ठ, राजेन्द्र लम्साल र रत्न बानियाँको संक्षिप्त परिचय र उहाँहरूले लोकगीत क्षेत्रमा पु¥याएको योगदानका विषय चर्चा गरिएको छ । फोटो प्रदर्शनीमा आँधीखोले लोकगीतका अग्रज साधकहरुको संक्षिप्त परिचय, गायन तथा लेखन कृति एवम् योगदानका विषयसहितको फोटो प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव शिव हमालले लोक तथा दोहोरी क्षेत्रमा योगदान दिने अग्रजहरुको कारण आज धेरै कलाकर्मीलाई व्यावसायी बन्ने अवसर प्राप्त भएको बताउनुभयो । अग्रजहरुको सम्झनासँगै सम्मान दिनु भनेको लोक संस्कृतिको सम्मान र सम्वद्र्धन गर्नु हो । त्यसैले अग्रज स्रष्टा तथा साधकहरु सधै सम्मानयोग्य रहेको महासचिव हमालले औंल्याउनुभयो । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा अग्रजहरुको फोटो प्रदर्शनीसहित लोकगीत र लोकगीतका साधकहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु सराहनीय रहेको उहाँले व्यक्त गर्नुभयो ।
साथै महासचिव हमालले नेपाली लोक तथा दोहोरीगीतले विदेशीहरुलाई पनि निकै आकर्षित गरेको बताउनुभयो । विशेषगरी दोहोरीगीतको लयात्मक सवाल जवाफ हाम्रो आफ्नोपन हो । यसले विदेशी नागरिकहरुलाई मनोरञ्जनसँगै अनुसन्धानमासमेत लाग्ने गराएको छ । आज धेरै विदेशीहरुले लोकगीतको मौलिकतासँगै दोहोरीगीतको अध्ययन अनुसन्धानमा लागेका महासचिव हमालले उल्लेख गर्नुभयो ।
संस्थापक जिटीले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि साहित्यकार अनन्त अर्याल र मिलन समीरले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गी प्रतिष्ठान केन्द्रीय सचिव घनश्याम रिजाल, स्याङ्जेली साहित्यकार देवी प्रसाद वनवासी, श्रष्टाहरुको तर्फबाट विश्व प्रेम अधिकारी, पत्रकारहरुको तर्फबाट प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली, प्रतिष्ठान स्याङ्जाका पूर्व अध्यक्ष अर्जुन गैह्रेले धाराणा राखेका थिए । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान स्याङ्जाका अध्यक्ष नेत्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष तारा पौडेल र सञ्चालन सचिव राजेश भण्डारीले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


