भीरकोटले चौथो बालमैत्री नगर घोषणा दिवस मनायो

भीरकोट :
‘सुखी बालबालिका समृद्ध भीरकोट’ भन्ने नाराका साथ स्याङ्जाको पहिलो बालमैत्री नगर भीरकोट नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको चौथो दिवस विविध रचनात्मक क्रियाकलापका साथ बिहीवार मनाएको छ । नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा आयोजित समारोहको नेपाली काँग्रेसका गण्डकी प्रदेश उपसभापति तथा पूर्व सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका थिए । भीरकोटले बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ गतेलाई बालमैत्री दिवसको रुपमा मनाउँदै आएको छ । २०७७ फागुन २२ गते भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोस्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धिमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ । जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ ।
बालमैत्री दिवस समारोहमा बोल्दै गण्डकी प्रदेशका पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठले नगरपालिकालाई बालमैत्री घोषणासँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनु पर्नेमा जोड दिए । नगरपालिकाले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन र गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नुपर्ने उनले बताए । सांस्कृतिक प्रस्तुतिहरुका साथ आयोजित समारोहमा प्रमुख अतिथि श्रेष्ठले बालबालिकाको सर्वाङ्गीण विकासबिना समृद्ध राष्टको कल्पना गर्न नसकिने बताउँदै भीरकोट नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेको लगानी र प्राप्त गरेको प्रतिफलको मुक्तकण्ठले प्रशंसा गरे । उनले सबै स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।
बालबालिकाको समग्र वृद्धि र विकासलाई प्राथमिकतामा राखेर बालमैत्री नगरको पहिचान स्थापित गर्न सके यसको निरन्तरता सदैव हुनेमा आशावादी रहेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । अहिले भीरकोटका सबै विद्यालयमा छात्र र छात्रामैत्री शौचालय रहेका छन् । सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ । सबै घरमा शौचालय बनेको छ । बालबालिकाहरुको जन्म दर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घर लगायतका क्षेत्रमा रहेका बालश्रम न्यूनीकरणको काम तीब्र रुपमा गरिरहेको छ । वालविवाह, लागुऔषध दुव्र्यसनी रोकथाम र न्यूनिकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । भीरकोट नगरपालिकाले बालमैत्री नगरको यात्रा विगत ६ वर्षदेखि मात्रै सुरु गरेको थियो । सोही समयमा कोभिड–१९ को महामारीका कारण अभियान प्रभाववित भएको थियो । बालमैत्री अभ्यासले बालमैत्री स्थानीय शासनको प्रारुप तयार गर्न सहयोग गरेको निवर्तमान मेयर छायाराम खनालले बताए । बालमैत्री सम्वन्धि अवधारणा नेपाल सरकारले २०६८ सालदेखि अवलम्बन गरेको थियो ।
बालमैत्री दिवस समारोहका अवसरमा गत बर्षको एसईई परीक्षामा भीरकोटमै सबैभन्दा धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै वडा नं. ६ को बालोदय अंगेजी आवासीय माविलाई सर्वाेत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको छ । यसैगरी सामुदायीक तर्फ उत्कृष्ट नतिजा ल्याउने दभुङठाँटी मावि र दहथुम मावि पनि सम्मानित भएका छन् । गत बर्षको एसईई परीक्षामा नेपाली र सामाजिक विषयमा सत प्रतिशत तथा अंग्रेजी, गणित र विज्ञानमा ९० प्रतिशत भन्दा धेरै नतिजा ल्याउने शिक्षकहरुलाई नगद सहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगद ५ हजार सहित यहाँका विभिन्न विद्यालयका १७ जना शिक्षकहरु सम्मानित भएको शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले बताए ।
यसैगरी दिवसको अवसरमा वर्षभरी शिक्षा तथा बालमैत्री शाखाले संचालन गरेका विविध प्रतियोगितात्मक कार्यक्रममा प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीहरुलाई नगद र अन्य पुरस्कार प्रदान गरिएको छ । गतबर्षको एसईई परीक्षामा नगरमै उत्कृष्ट जिपिए प्राप्त गर्न सफल भाग्योदय माविका प्रतिक रेग्मी तथा भूपू सैनिक अंगेजी आवासीय माविका दिया रोका र ऐश्वर्या केसी पनि सम्मानित भएका छन् । बालबालिकाका विविध प्रस्तुती सहित सम्पन्न उक्त कार्यक्रममा बालमैत्री सहजकर्ता विष्णुमाया काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमको संचालन योजना शाखाका प्रमुख यामप्रसाद रेग्मीले गरेका थिए । सो अवसरमा निवर्तमान नगरप्रमुख छायाराम खनाल, नगरउपप्रमुख भगवती रेग्मी अर्याल, नगरप्रवक्ता दिपेन्द्र केसी, नेपाली काँग्रेसका नगर सभापति यामप्रसाद अधिकारी, एमालेका अध्यक्ष हर्कबहादुर गुरुङ, राप्रपाका अध्यक्ष हर्कबहादुर रोका, शहिदशुक्र माविका प्रअ चोलाकान्त काफ्ले, बालोदय माविका प्रिन्सिपल अमृत अर्याल, विद्यार्थी कुसुम रेग्मी लगायतले बालमैत्री स्थानीय शासनका बारेमा बोलेका थिए ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…