स्याङ्जामा नौ हजार ३१९ किशोरीलाई एचपिभी खोप लगाइँदै

स्याङ्जा :

स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाउने भएका हुन् ।

बिहीबार प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले गरेको एचपिभी खोपसम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरू र सञ्चारकर्मीसङ्ग अन्तरक्रिया गोष्ठीमा जानाकारी गराइएको हो ।

गोष्ठीमा मुखको क्यान्सरबारे जानकारी, रोकथामका उपाय, अभियानमा प्रयोग हुने एचपिभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमि साथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र सङ्ख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जानाकारी गराएको छ ।

जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईले यो खोप अभियान माघ २२ देखि २७ गतेसम्म कक्षा –६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीले लगाउने बताउनुभयो । विद्यालय जाने नौ हजार २८८ र विद्यालय नजाने किशोरी ३१ जना रहेको बताउँदै चापागाईले सबैभन्दा धेरै वालिङमा एक हजार ९८० जनाले खोप लगाउने बताउनुभयो ।

सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ३९९ जना, पुतलीबजार नगरपालिकामा एक हजार ३७८ जना, भीरकोट नगरपालिकामा ८३३ जना, चापाकोट नगरपालिकामा ८९०, गल्याङ नगरपालिकामा एक हजार १११ जना, फेदीखोला गाउँपालिकामा ४६४ जनाले खोप लगाउने छन् ।

यस्तै, हरिनासमा ४६१ जना, बिरुवामा ४२६ जना, अर्जुनचौपारीमा ४३७ जना, कालीगण्डकी गाउँपालिकामा ५९८ जनाले खोप लगाउने चापागाईले बताउनुभयो । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरकाले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा गएर खोप लगाउन सक्ने छन् ।

पाठेघरको मुखको क्यान्सर मुख्यगरी एचपिभी भाइरसको सङ्क्रमणबाट हुने गर्दछ । महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु भएको तथ्याङ्क छ ।

जिल्ला खोप समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी. ले खोप अभियानलाई सफल बनाउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ।  प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले खोप अभियान सफल बनाउन प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले सरकारले विभिन्न प्रविधिवाट चेक जाँच गर्न थालेपछि क्यान्सर जस्ता रोग पहिचान संख्यात्मक हिसावमा वढ्दो भएपनि समयमै पत्ता लगाउदा मृत्यू हुने जोखिम कम भएको वताउदै रोग पहिचान र नियन्त्रणमा सरकारको पहल सकारात्मक रहेको वताउनु भयाे ।

अभियानका क्रममा लक्षित उमेर समूहमा रहेका विद्यालय नजाने किशोरीहरुले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयहरुमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको   छ । अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख  चापागाईंले  जानकारी दिनुभयो ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपिभी भाइरसको संक्रमणबाट हुने गर्दछ । महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ । यो रोगबाट नेपालमा प्रत्येक दिन चारजना महिलाको मृत्यु भएको तथ्यांक रहेको छ ।

Facebook Comments Box
TOP