गह्रौँसुरमा निर्मित कालिका मन्दिरलगायत भौतिक संरचनाहरुको उद्दघाटन

स्याङ्जा :
स्याङ्जाको प्रसिद्ध गह्रौँसुर धार्मिक तथा पर्यटकीय केन्द्र गह्रौँसुरमा निर्मित कालिका मन्दिरलगायत भौतिक संरचनाहरुको उद्दघाटन गरिएको छ । भगवती कालिका मन्दिरलगायतका भौतिक संरचनाको उद्दघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रकाश ढकालले पर्यटकीय धामको रुपमा विकास गर्नका लागी निजि क्षेत्रले सहयोग गर्ने बताउनुभएको छ ।
धार्मिक ऐतिहासिक, सांस्कृतिक रितिरिवाजलाई बढाउँदै जाँदा यहाँको आर्थिक विकास हुँने भन्दै यसको विकासका लागी सबैले हातेमालो गर्नुपर्नेमा उहाँको जोड थियो । यहाँका संभावित धार्मिक सांस्कृतिक क्षेत्रहरुको विकास गर्दै जाँदा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण गर्न सकिने भएकाले यसले आर्थिक क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग गर्ने अध्यक्ष ढकालको भनाई थियो ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सिटि एक्सप्रेसका कार्यकारी निर्देशक चन्द्र टण्डन, गह्रौँसुर धार्मिक तथा पर्यटकीय स्थलका प्रमुख संरक्षक दिलिपप्रतख खांण, वरिष्ठ समाजसेवी तथा व्यवसायी नारायणप्रसाद शर्मापंगेनीलगायतले गह्रौँसुरको विकासका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
आज कालिका मन्दिर, कालरात्रि मन्दिर, चण्डी थान मन्दिर, दुईवटा धर्मशाला, त्रिशुलको उद्दघाटन गरिएको हो । कार्यक्रममा भन्दिर परिसरमा विभिन्न संरचना निर्माणका लागी सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम गह्रौँसुर धार्मिक तथा पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खांणको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, धन्यवाद संरक्षक डोलराज शर्मापंगेनी, संचालन प. नेत्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।
मन्दिरमा बडादशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म एकादशी र चौथीबाहेकका दिन विशेष पूजा हुने गर्दछ भने चैते दशैँमा समेत विषेश पुजाआजा हँदै आएको छ । वालिङ नगरपालिकाको वडा नम्बर ८ र १० मा पर्ने गह्रौंसुर गल्याङ नगरपालिकासँग जोडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि कच्ची र पक्की गरी १० किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ ।
चौबिसे राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिका मन्दिरको स्थापना गरेको मानिन्छ । गह्रौंसुर समुद्र सतहदेखि झण्डै १६ सय मिटरको उचाइमा अवस्थित छ । यहाँबाट स्याङ्जाका अधिकांश भागकासाथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका छिमेकी जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्व रहेको गह्रौंसुरबाट उत्तरतर्फको हिमशृङ्खला देख्न सकिन्छ । पछिल्लो समयमा मन्दिर वरपर गरिएको व्यवस्थापनले धार्मिक आस्थावान एवम् पर्यटकहरुका लागि जिल्लाकै आकर्षक गन्तव्यकारुपमा विकसित हुँदै आएको छ ।
Facebook Comments Box
TOP