सिद्धार्थ राजमार्गको स्त्तरोन्नती स्याङ्जाका नागरिकको माग ।

वालिङ :
स्याङ्जाको समग्र विकासका लागि बृहत छलफल भएको छ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको उपस्थितिमा भएको छलफलमा जिल्लाको विकासका लागि प्राथमिकता निर्धारण गरेर अगाडि जाने तय भएको हो । शिक्षा र कर्मचारीतन्त्रमा राम्रो पकट भए पनि जिल्लाको विकासले राम्रो गति लिन नसकेको बक्ताहरुको भनाई छ ।
जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधि,विभिन्न उद्योग बाणिज्य संघका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छलफलका बक्ताहरुले सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।
जिल्लाको विकासको पहिलो खुड्किलो सडक रहेको भन्दै पुरानो राजमार्गलाई स्त्तरोन्नती गरेर नयाँ स्वरुप दिनुपर्ने उनीहरुको भनाई छ । वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलिपप्रताप खांणले सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीमा अव ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“राजमार्गलाई व्यवस्थित र राम्रो बनाउन जिल्लाका नागरिकको एकल माग छ ।”
स्याङ्जाले दोस्रो पटक मुख्य सचिव पाएको भन्दै बक्ताहरुले यसको सही सदुपयोग गर्दै जिल्लाको विकासका लागि प्रभावकारी काम गर्नु पर्ने जिल्लाका जनप्रतिनिधिको माग छ ।
मुख्य सचिव अर्यालले सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीका लागि आफूले पहल गर्ने बताउनु भयो । आफूले अर्थमन्त्रीसँग राजमार्गको बारेमा कुरा गरिसकेको भन्दै आगामि आर्थिक बर्षमा यसको नतिजा देखिने उहाँको भनाई छ ।
छलफल पश्चात जिल्लाको समग्र विकासका लागि तयार गरिएको रणनीति मुख्य सचिव अर्याललाई हस्तान्तरण गरिएको थियो । जिल्लाका ११ वटै स्थानीयतहका प्रतिनिधिहरुको छलफलबाट तयार पारिएको विकासको प्राथमिकताको सूचीमा सडक,अस्पताल,शिक्षा,आँधीखोला उच्च बाँध, करिडोर लगायतका विषयहरु समावेश गरिएको छ ।

Facebook Comments Box
TOP