स्याङ्जाको विकासमा समाज नै बाधक : सांसद थापा

स्याङ्जा :
स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर १ का सांसद राजु थापाले विकासका लागि समाज बाधक बन्न थालेको बताएका छन् । जिल्ला स्थित स्थानीयतह तथा बिषयगत कार्यालयहरुको आर्थिक बर्ष २०८०/०८१ मा संचालित विकास निर्माण योजना कार्यक्रमहरुका बिषयमा जिल्ला समन्वय समिति स्याङ्जाले आयोजना गरेको बार्षिक समिक्ष बैठकको उदघाटन गर्दै सांसद थापाले पछिल्लो समय समाजका अगुवाहरु नै विकास निर्माणमा बाधक बन्ने गरेको बताएका हुन् । पुतलीबजार नगरपालिकाले गौरवको आयोजनाको रुपमा लिएको दुई जिल्ला जोड्ने सडक निर्माणका लागि गरिएको अवरुद्धका बिषयमा उदाहरण दिदै सांसद थापाले समाज नै विकास निर्माणमा बाधक बन्दा योजना अलपत्र अवस्थामा पुग्न थालेको बताए ।

स्याङ्जाका स्थानीय तहहरुले गरेका विकास निर्माणका कार्यहरु पुरानै शैलीमा देखिएकाले अब फरक तरिकाको विकासका गतिहरु अगाडी बढाउनुपर्नेमा जोड दिए । अहिलेको एसईईको रिजल्ट हेर्दा शिक्षाको अवस्था खस्कदो रुपमा रहेको तथ्याङक सार्वजनिक भएको बताउदै सांसद थापाले यस्ता बिषयले स्याङ्जाको विकासमा चुनौती थपिएको बताए । सबै स्थानीयतहहरुले उत्पादनलाई जोड दिएर युवा विदेशीने पलायन रोक्न उनले आग्रह गरे ।

सिंहदरबारको अधिकार गाउँमा दिने उदेश्यले जारी गरिएको संघियताका बिषयमा समिक्षा गर्नुपर्ने अवस्था आएको हो की भन्ने देखिएको बताए । गाउँ र नगरमा बनेका भवनहरु निकै खर्चिलो भएको बताउदै सांसद थापाले खर्चमा कटौती गर्न सबै स्थानीय सरकारका प्रमुखहरुलाई आग्रह गरे । स्याङ्जाका विकासका लागि तिनैतहका सरकारले गौरवका आयोजना जोड्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका लेखा समितिका सभापति सुधिर पौडेल, प्रदेशका पुर्व मन्त्री सीता सुन्दास, कास्की जिल्लाका समन्वय प्रमुख लिलाधर पौडेल, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्याङ्जा जिल्ला समन्वय समितिका उपप्रमुख खड्कराज सुवेदी लगायतका बक्ताहरुले विकास गाउँमा पुग्यो र तर गाउँ रित्तो बन्ने बिषयमा चिन्ता व्यक्त गरेका थिए ।

सोमबार भएको समिक्षा बैठकमा कालीगण्डकी गाउँपालिका, फेदिखोला गाउँपालिका, हरिनास गाउँपालिका, बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका, पुर्वाधार कार्यालय, अमोर सेवा नेपाल, सिविआरएस लगायतका कार्यालयले आ-आफ्नो विवरण पेश गरेका थिए । बाँकी कार्यालयहरुको मंगलबार पेश भएपछि समिक्षा बैठक सकिने जिल्ला समन्वय समितिका सदस्य नेम रानाले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीको सभापतित्वमा पहिलो दिनको कार्यक्रमको संचालन समन्वय अधिकारी उदय पराजुलीले गरेका थिए ।

Facebook Comments Box
TOP