निजामती सेवा ऐन छिटो ल्याउन माग
स्याङ्जा :
२१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका निजामती कर्मचारीहरुले सेवा दिवसको रुपमा मनाउदै आएका छन् । यो दिनलाई नेपालका निजामती कर्मचारीहरुले बिशेष दिनको रुपमा लिदै आएका छन् । २१ औं निजामती सेवा दिवस २०८१ को अवसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा कर्मचारी मिलन केन्द्र, निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाको सह—आयोजनामा मनाइएको हो ।
कार्यक्रममा कर्मचारीहरुले संघिय निजामती सेवा ऐन छिटो ल्याउन माग गरेका थिए । सेवा ऐन छिटो नआउदा तिनैतहका कर्मचारीमा समस्या पैदा हुने गरेको उनीहरुको भनाई थियो । सरकारले निजामती ऐन ल्याउने प्रयास गरेपनि संसदमा बिचारधिन रहनु अत्यन्तै दुखद पक्ष रहेको कर्मचारीहरुले बताएका छन् । धेरै बर्षदेखी संसदमा थन्किएको संघिय निजामती सेवा ऐन ल्याउन नसक्दा कर्मचारीहरुले गर्नुपर्ने कार्यसम्पादनमा प्रश्न उठ्न थालेको उनीहरुको गुनासो छ ।
अधिकांश कर्मचारीहरुले संघिय निजामती ऐन ल्याउन माग गर्दै २१ औं निजामती सेवा दिवसले ऐन ल्याउन सघाउ पुग्ने बताएका थिए । निजामती ऐन समयमा नआउदा तिनैतहका कर्मचारीलाई मार्ग निर्देशन गर्न असहज हुने गरेको स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । नेपालको निजामती सेवा जनताको सेवक हो सप्रजिअ पौडेलले भने,‘निस्वार्थ भावनाले काम गर्ने बातावरण बनाइनुपर्छ ।’ अहिलेको निजामती सेवाले जनताको विविध प्रकृतिका काम गर्नुपर्ने अवस्था छ उनले भने । साघुरो प्रशासनिक सेवालाई सार्वजनिक सेवामा गएको अवस्थामा निजामती सेवा ऐन आउन ढिला गर्न नहुने सप्रजिअ पौडेलले बताए । नागरिकको सेवा प्रवाहमा कुनै कसुर बाँकी नराखेर कानुन सम्वत ढंगबाट मुस्कान सहितको सेवा दिन सबै कर्मचारीलाई पौडेलले निर्देशन दिए ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्र स्याङ्जाका अध्यक्ष माधव लम्साल, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन स्याङ्जाका अध्यक्ष राजु प्रसाद मरासिनी, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्याल, कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष सिर्जना लामिछाने, करदाता कार्यालय स्याङ्जाका प्रमुख बिजय भुषाल लगायतले निजामती सेवा मुलुकको स्थायी सरकार भएकाले नागरिकको सेवाप्रति जिम्मेवार रहनुपर्ने बताएका थिए । कर्मचारीको कानुन नबन्दा भएका समस्यालाई चिर्दै देश र नागरिकको सेवामा तल्लिन हुनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।
निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएका खेलकुद, हाजिरी जवाफ लगायतका कार्यक्रममा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । दिवसकै अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको निमित्त प्रजिअ पौडेलले जानकारी दिए । रक्तदानबाट १७ युनिट रगत संकलन भएको र उक्त रगत जिल्ला रेडक्रसलाई हस्तान्तरण गरिएको छ । कार्यक्रम हुनुपुर्व जिल्ला सदरमुकाममा प्रभातफेरी समेत निकालिएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …