निश्पक्ष भएर नगरको चौतर्फी विकासमा क्रियाशिल छौंः नगरप्रमुख भट्टराई

गल्याङ :
गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले निश्पक्ष भएर नगरपालिकाको चौतर्फी विकासका लागि आफुहरु लागिरहेको बताउनुभएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रममा उहाँले सीमित स्रोत र साधनलाई परिचालन गर्दै नगरपालिकालाई विकासको गतिमा अघि बढाइएको बताउनुभयो ।
गल्याङ नगरपालिका ३ मा रहेको नगरपालिकाको सिटीहलमा भएको कार्यक्रममा नगरप्रमुख भट्टराईले नगरपालिकामा भएको झण्डै साढे चार सय किलोमिटर ग्रामिण बाटोको स्तरउन्नती एकैपटक नहुने भन्दै स्तरउन्नतीमा क्रमश लागिरहेको बताउनुभयो ।
उहाँले वडाको समन्वयमा नालीको व्यवस्थापन गर्दै क्रमशः काम भैरहेको स्पष्ट पार्नुभयो ।
कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले उत्पादन बृद्धि गरि निर्यातका लागि निरन्तर प्रयास भैरहेको र केही नतिजाहरु देखिएको भन्दै उहाँले अनुदानको कहीं दुरुपयोग भएको भए जानकारी दिन आग्रह गर्नुभयो ।
नगरप्रमुख भट्टराईले आफु निर्वाचित हुनु भन्दा अगाडि सरकारको मापदण्डमा निरन्तर ओरोलो रहेकोमा २०७९ पछि एफआरए र लिजामा उच्चतम प्रगति भएको जानकारी दिनुभयो ।
सफलता के कुरालाई मान्ने भन्नेमा बुझाईमा केही समस्या रहेको भन्दै उहाँले नगरपालिकाको सेवा प्रवाहमा भएका प्रगतिहरुको सकारात्मक समिक्षा हुनुपर्ने बताउनुभयो ।
नगरप्रमुख भट्टराईले विपन्न परिवारका लागि आफुले निरन्तर काम गरेको भन्दै नगरपालिकाले आफन्त नभनी आवश्यकताको आधारमा काम गरिरहेको बताउनुभयो ।
उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई अगाडि बढाइरहेको भन्दै उहाँले नगरपालिकाले वास्तविक किसानलाई निश्पक्ष भएर सहयोग गर्न कृषि र पशु शाखालाई भनिरहेको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख भट्टराईले बुटवल पावर कम्पनीको आँधीखोला वितरण केन्द्रका ग्राहकहरुका लागि शुल्क बढाएको सन्दर्भमा आफुले विज्ञप्ति मार्फत विरोध गरिरहेको भन्दै अन्य पालिकासँग समन्वय गरिरहेको पनि जानकारी दिनुभयो ।


उहाँले एक घर एक धारा निर्माण गर्ने, वडा कार्यालय नभएका वडाको आफ्नै कार्यालय बनाउने तथा वडा कार्यालयसम्म पुग्नका लागि पक्की सडक बनाउने तथा मुख्य सडकबाट सहायक बाटोहरुको कालोपत्रे गर्न लागिरहेको बताउनुभयो ।
सकारात्मक सोचका साथ इमान्दारितापूर्वक असल नियतका साथ काम गरिरहेको भन्दै उहाँले नगरपालिकाले गरिरहेका काममा आवश्यक सहयोग र समन्वय गर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख भट्टराईले स्वास्थ्य क्षेत्रको स्तर उन्नतीका लागि निरन्तर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगरपालिकाले चालु आर्थिक वर्षमा गरिरहेको कामका विषयमा जानकारी दिनुभएको थियो ।
उहाँले प्रशासकीय हिसाबले पनि चालु आर्थिक वर्षमा नगरपालिका तथा वडा कार्यालयहरुमा धेरै कामहरु भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले गल्याङ नगर कमिटि अध्यक्ष दानबहादुर थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष चित्र राना सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नगरपालिकालाई प्रश्न तथा सुझाब दिनुभएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीना, ११ वटै वडाका वडाअध्यक्षहरु तथा नगर कार्यपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
गल्याङ सञ्चार प्रा.लि गल्याङ एफएम ९२.२ मेगाहर्जले सहजीकरण गरेको सार्बजनिक सुनुवाई कार्यक्रमको सञ्चालन एफएमका प्रबन्धक केपी खनालले गर्नुभएको थियो ।
नगरपालिकाले गरिरहेको सेवा प्रवाह तथा विकास निर्माणका विषयमा बुधबार सार्बजनिक सुनुवाई गरिएको हो ।

 

Facebook Comments Box
TOP