सहकारीका अध्यक्षहरु भन्छन्,‘सिद्धान्त पालना गर्न नसक्दा सहकारीमा समस्या आयो’।

राधाकृष्ण डुम्रे/वालिङ :
सहकारीका सात सिद्धान्तलाई पालना गर्न नसक्दा समस्या आएको सहकारीका अध्यक्षहरुले बताएकाछन् । स्याङ्जाको वालिङमा आयोजना भएको तालिम तथा छलफल कार्यक्रममा सहकारीका अध्यक्षहरुले सिद्धान्त र मूल्य मान्यतालाई आत्मसात गर्न नसक्दा सहकारीमा समस्या आएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनालले अन्तराष्ट्रिय रुपमा प्रसिद्ध सहकारीका सात सिद्धान्तको पालना गर्न नसक्दा सहकारी संस्थाहरु समस्यामा पर्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो,“पदमा जान खोज्ने तर आवश्यक कानुन र गर्नुपर्ने क्रियाकलापको बारेमा बेवास्ता गरिनु सहकारीमा समस्या आउनुको मूख्य कारण हो ।” जिम्मेवार व्यक्तिले सहकारी कानुनलाई बुझ्न नसक्दा ठूलो समस्या आएको उहाँको भनाई छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखाको आयोजना वालिङमा भएको अध्यक्षहरुको क्षमता विकास तालिम तथा छलफलमा उनीहरुले मानविय त्रुटीका कारण समस्या आएको बताए । नजिकका र चिनेका मान्छेलाई विश्वास गरेर ऋण लगानी गर्दा जटिल समस्या आएको उनीहरुको बुझाई छ ।
राम्रो गर्न खोज्दा खोज्दै पनि अन्यत्र जिल्लामा देखिएका समस्याले आफूहरुलाई समेत मर्कामा पारेको अध्यक्षहरुले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक एवं गण्डकी प्रदेशका संयोजक रामबहादुर विसिले सहकारीको मुल्य र मान्यतालाई आत्मसात गर्न आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा अध्यक्षहरुलाई सहकारीहरुले कार्ययोजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभुत वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवं सदस्यलाई वित्तिय परामर्श उपलब्ध गराउने भूमिका, सहकारी ऐन, नियमावली, आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तिय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा संचालक अध्यक्षको भूमिका लगायतका विषयमा छलफल गरिएको राष्ट्रिय सहकारी बैंक वालिङ शाखा प्रमुख टिकाराम अधिकारीले जानकारी दिनभयो ।
उहाँका अनुसार कार्यक्रममा वालिङ सहित, कालीगण्डकी, चापाकोट, भीरकोट नगरपालिकामा सक्रिय ५० सहकारीका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमममा अनिलबीर बर्जाचार्यले सहकारीलाई सञ्चालन गर्ने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box
TOP