चापाकोटले ल्यायो ७२ करोडको बजेट
वालिङ :
चापाकोट नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१÷८२ का निम्ति ७२ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख इशा रानाले आइतबार नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्दा ५ करोड रुपैयाँ बढी आकारको बजेट सार्वजनिक गरेकी हुन् । आउँदो आवको बजेटमा चालु खर्चतर्फ ४४ करोड ९२ लाख ५० हजार अर्थात् ६१.७ र पुँजीगत खर्चतर्फ २७ करोड ९९ लाख ४५ हजार अर्थात् ३८.३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आउँदो आवको बजेटको प्राथमिकतामा कृषि, शिक्षा एवं स्वास्थ्य, सरसफाइ व्यवस्थापन एवं वातारण संरक्षणलाई राखिएको छ । साथै, बजेटमा पर्यटन एवं कृषिदेखि गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको छ । उपप्रमुख रानाले नगरले आउँदो आर्थिक वर्षको बजेटमा स्थानीय कर प्रणालीलाई उत्पादन अभिवृद्धि र सामाजिक न्याय प्रवर्धन गर्नेतर्फ उन्मुख गरिएको बताईन् । “आन्तरिक राजस्वलाई नगरको भरपर्दो एवं दिगो वित्तीय स्रोतका रूपमा स्थापित गरी वित्तीय आत्मनिर्भरता कायम गर्नु राजस्व नीतिको प्रमुख उद्देश्यका रूपमा लिएकी छु,” उनले भनिन्, “बजेटमा प्रस्तावित वित्तीय तथा राजस्व सुधारका नीतिबाट आन्तरिक राजस्वको दायरा फराकिलो हुने, प्रशासनिक खर्चमा मितव्ययिता कायम भई पुँजीगत खर्चको गुणस्तर एवं प्रभावकारिता बढ्ने अपेक्षा राखेकी छु ।”
कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गर्न कृषि एम्बुलेन्स र कृषि उपज सङ्कलन केन्द्र निर्माणकार्य अगाडि बढाउन नगरपालिकामार्फत ३९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने कृषि क्याम्पस व्यवस्थापन गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चिस्यान केन्द्र निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने चापाकोट टार सिंचाईका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाको अन्य ठाउँमा पनि सिँचाइ व्यवस्थापनतर्फ सोही अनुशारको बजेट विनियोजन भएको छ । उद्योगतर्फ दक्ष तथा सिपयुक्त जनशक्तिको विकास र प्रविधि हस्तान्तरण गर्न महिला उद्यमीका लागि २० लाख तथा सहकारी संस्थाहरुको नियमन, अनुगमन र कार्यविधि निर्माणमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख रानाले बताईन् ।
चापाकोट नगरपालिकाको पर्यटन प्रवर्धन गर्नका लागि ३ ठाउँमा जलाशययुक्त क्षेत्र निर्माण गरिने भएको छ । ‘एक वडा एक पर्यटन परियोजना’ कार्यक्रम सञ्चालन गरिनेछ । सामाजिक विकासतर्फ मन्दिर व्यवस्थापन, भ्यू टावर देखि गैर सरकारी संघ संस्थाहरुको समन्वय गर्न सोही अनुशारको बजेट विनियोजन भएको छ । पूर्वाधारतर्फ कुल बजेटको २१ प्रतिशतभन्दा बढी रकम विनियोजन भएको छ भने आउँदो वर्षमा पनि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला, साहित्य र संस्कृति, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासमा समेत बजेट विनियोजन भएको छ ।
नगरसभामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चापाकोट नगरपालिकाका नगर प्रमुख देबबहादुर खाँणले गुणस्तरीय शिक्षामार्फत सिपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चितताको नीति अबलम्बन गरिने बताए । नगर प्रमुख खाँणले उत्पादनमा आधारित व्यावसायिक र आधुनिक कृषि प्रणाली अबलम्बन, पर्यटकीय सम्भावनाको पहिचान तथा उत्थानशील पूर्वाधारको निर्माण, दीगो तथा पर्यावरणमैत्री र योजनाबद्ध पूर्वाधारको विकास, सामाजिक न्यायपूर्ण, समावेशी तथा समतामूलक समाजको निर्माण, विभिन्न सरकार, निजी क्षेत्रसँग समन्वय र सहकार्य, सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाहको सुनिश्चितता एवं प्रविधिमैत्री सूचना व्यवस्थापन प्रणाली अबलम्बन गर्ने नीति अपनाइनेमा जोड दिए । नगरसभामा नगर प्रमुख खाँणले प्रस्तुत गरेको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम र नगर उपप्रमुख रानाले प्रस्तुत गरेको आयव्ययसहितको आगामी बजेट छलफलपछि पारित भएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …