विद्युत महसुल फिर्ता गराउन सक्रिय बन्दै पालिकाहरु,वालिङमा जुटे जनप्रतिनिधि

वालिङ :
बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रकोे विद्युत महसुलमा बृद्धि भएसँगै स्याङ्जा तथा पाल्पामा विरोध तिब्र भएको छ । पालिकाहरुले सार्वजनिक बहस सुरु गरेकाछन् भने सर्वसाधारणले बिपिसीको कार्यालय अगाडि धर्ना दिदै आएकाछन् ।
कम्पनीको प्रस्तावमा विद्युत नियमन आयोगले विद्युत महसुल बढाउने निर्णय गरेको भन्दै जिल्लाका राजनीतिक दल,नागरिक समाज लागयत आन्दोलित हुँदै आएकाछन् । आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर विद्युत महसुल बढाएको जानकारी गराएको हो ।
विद्युत महसुल बृद्धि गरिएसँगै प्रभावित क्षेत्रका पालिकाहरुले पनि सक्रियता देखाएकाछन् । आआफेना पालिकाहरुका नागरिक प्रत्यक्ष मारमा पर्ने भन्दै महसुल फिर्ता गराउन विभिन्न गतिविधि गरिरहेका हुन् ।
वालिङ नगरपालिकाको पहलमा प्रभावित क्षेत्रका पालिकाहरु वालिङमा भेला भएर एकजुट रुपमा अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन् । वालिङ नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रभावित पालिकाका जनप्रतिनिधिहरु, राजनितिक दल, पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, पाल्पाको रामपुर नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा विद्युत महशुल वृद्धि मान्य नहुँने भन्दै चरणबद्ध आन्दोलनमा जाने विषयमा ऐक्यवद्धता जनाएका छन् । कार्यक्रममा चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर)ले कम गुणस्तरको विद्युत वितरण गर्दै आएको बिपिसीले अस्वभाविक रुपमा महसिल वृद्धि गरेको भन्दै यो निर्णय मान्य नहुँने बताउनु भयो । प्रभावित तहका स्थानीय सरकार, उपभोक्ता, राजनीतिक दल एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।

विजुलीको गुणस्तर कम हुँदा पालिकाका काम समेत प्रभावित भईरहेको भन्दै यो मुल्य वृद्धि स्वीकार्य नहुँने र प्रभाविक पालिकाका स्थानीय सरकारसंग चापाकोट नगरपालिका पनि ऐक्यवद्धता जनाएर आन्दोलनमा उत्रने नगरप्रमुख खांणले बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले विद्युत शुल्क बृद्धि घटाउनका लागी गरिने हरेक आन्दोलनमा सहमत रहेको भन्दै बिपिसिको गल्याङ कार्यालयमा हरेक दिन धर्ना कार्यक्रम भईरहेको बताउनुभयो । साथै उहाँले प्रभावित पालिकाका जनप्रतिनिधिसंगै राजनितिक दल, उपभोक्ता, नागरिक समाज बुद्धिजिवि सबै एक भएर महशुल घटाएरै छाड्ने नगरप्रमुख भट्टराईले बताउनुभयो ।

कार्यक्रममा पाल्पाको रामपुर नगरप्रमुख रमणबहादुर थापाले नागरिकको दैनिकी जीवनलाई कष्टकर बनाउने गरी बिपिसिले गरेको मुल्य वृद्धि मान्य नहुँने भन्दै यसमा प्रभावित पालिकाका स्थानीय सरकार प्रक्रियागत रुपमा अगाडि बढ्ने बताउनुभयो ।
कायक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महसुल बृद्धि र यसबाट पर्न जाने असरका बारेमा भनाई राख्नु भएको थियो । नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उपप्रमुख तिवारीले प्रभावित क्षेत्रका पालिकाहरु मिलेर जानु पर्दछ भनेर संयुक्त छलफल कार्याक्रम राखिएको जानकारी दिनुभयो ।
महसुल बृद्धिले नागरिकलाई आर्थिक भार पर्ने भन्दै तिवारीले गुणस्तरी बिद्युत उपभोग गर्न बाट उपभोक्ता बन्चित रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले मुल्य वृद्धिको विरुद्धमा बिपिसीलाई ध्यानाकर्षण गराईएको मिटर रिडिङ नगर्न, भुक्तानी नलिन आग्रह गरिएको , नियमन आयोगमा निवेदन दिईएको, सम्बन्धीत निकायमा ध्यानाकर्षण गराईएको प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाईएको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आश्वासन दिईएपनि अहिलेसम्म कुनै थप जानकारी नआएको भन्दै ४० हजार परिवारले उपभोग गर्दै आएको विद्युत महशुल एकाएक ८० प्रतिशतसम्म वृद्धि गर्नु मान्य नभएको र यो आन्दोलनलाई टुङग्याएर मात्रै छाडिने सभापति पाण्डेले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेलले कम गुणस्तरको विजुली विक्रि गर्दै आएको बिपिसीले आँफूले स्थापनाकालमा गरेका सम्झौता सम्झनुपर्ने भन्दै कम्पनी अहिले नाफामुखी मात्रै भएको बताउनुभयो । नाफासंगै सामाजिक उत्तरदायित्व समेत हेर्नुपर्ने कम्पनीले आँफूलाई घाटा भयो भन्दैमा महशुल वृद्धि गरी नागरिकलाई कष्टकर बनाउने कार्य मान्य नहुँने बताउनुभयो ।
विद्युत नियमन आयोगका प्रमुखले अघिल्लो दिन यो प्रस्तावलाई स्वीकृति दिनु र भोलीपल्ट अवकास हुनु अस्वाभाविक भएको भन्दै यसमा आर्थिक चलखेल भएको हुन सक्ने पौडेलको भनाई छ ।

राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र प्रसाद गैह्रे,नेकपा समाजवादीका नेता जगदिश प्रसाद गैह्रे, राष्ट्रिय स्वतन्त्र पाटीका नेता प्रकाश अर्याल, नेकपाका ध्रुव गौडेल,राप्रपा लगायतका नेताहरुले महसुल वृद्धिको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।
कार्यक्रम वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लेखा शाखाप्रमुख ज्ञानप्रसाद अर्याल र संचालन प्रशासन प्रमुख नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो ।
जनप्रतिनिधिहरुको छलफलले नेपाल सरकार र युनाईटेड मिसन टु नेपाल तथा बुटवल पावर कम्पनी बिच भएको सम्झौता र आँधीखोला जलविद्युत केन्द्रको अपग्रड गर्दा नेपाल सरकारसँग भएको सम्झौताका बारेमा अध्ययन गर्ने निर्णय भएको छ ।
वालिङ नगरपालिकाको संयोजनमा सम्झौताका विषयमा अध्ययन गर्ने र आन्दोलनका भावि योजनाका बारेमा पुन छलफल गर्ने निर्णय भएको छ ।

Facebook Comments Box
TOP