विद्युत उपभोक्ताहरु चरणबद्ध आन्दोलित, मिटर रिडिङमा रोक देखी हस्ताक्षर अभियान

स्याङ्जा ।
बुटवल पावर कम्पनीले बृद्धि गरेको विद्युत महशुल खारेजीको माग गर्दै हस्ताक्षर अभियान शुरु गरिएको छ । बीपीसीले महशुल बृद्धि गरेको सूचना सार्वजनिक भएपछि यसका उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा छन् । आन्दोलनको नेतृत्व ८ राजनीतिक दलले लिएका छन् । वालिङका ८ राजनीतिक दलले शुरु गरेको महशुल बृद्धि विरुद्ध अहिले बीपीसीको विद्युत प्रयोग गर्ने ६ पालिकामा समेत आन्दोलन शुरु भएको छ ।

६ पालिकाका राजनीतिक दलको गल्याङ्मा बसेको संयुक्त भेलाले आ—आफ्ना पालिकामा रहेको बीपीसीको सेवा केन्द्रलाई मिटर रिडिङ् देखी हस्ताक्षर संकलन गर्ने निर्णय अनुसार बिहिवारबाट यो अभियान शुरु गरिएको हो । वालिङ मोडमा आयोजना गरिएको बीपीसीको महशुल बृद्धि बिरुद्धको हस्ताक्षर संकलनमा सयौंको संख्यामा उपभोक्ताहरुको सहभागिता रहेको थियो । हस्ताक्षर अभियानमा नेपाली काँग्रेसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले बीपीसीले बृद्धि गरेको महशुलको खारेजी बिरुद्ध सबै उपभोक्ताहरु एकजुट हुने बेला आएको बताए । वालिङ मोडबाट शुरु भएको हस्ताक्षर अभियान वालिङका मुख्य—मुख्य चोकमा हुने हुँदा सबै नगरवासीहरुले यस कार्यमा सहभागी हुन पाण्डेले आग्रह गरे ।

यसैगरी नेकपा एमालेका वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेलले विद्युत नियमन आयोगले अशोभनीय तवरबाट उपभोक्ताको ढाड सेक्नेगरी महशुल बृद्धि गर्न दिएको अनुमतिको घोर भत्र्सना गर्दै बृद्धि गरिएको महशुल खारेजी गर्न सबै उपभोक्ताहरु एकजुट हुनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी समाजवादीका केन्द्रीय परिषद सदस्य राजेन्द्र गैह्रेले कोभिड पछि आर्थिक अवस्था अस्तव्यस्त बनेको समयमा पनि नाफा कमाएको बीपीसीले आर्थिक प्रलोभनमा पारेर गरिएको विद्युत महशुलको बृद्धि तुरुन्तै खारेजी हुनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रेले आँधीखोला स्याङ्जावासीको सम्पति भएको बताउदै बृद्धि भएको महशुल मात्रै होइन अब उपभोक्तालाई बीपीसीको शेयर पनि दिनुपर्ने माग गरे । उपभोक्तबाट गरिएको हस्ताक्षर विद्युत नियमन आयोग र बीपीसीको केन्द्रीय कार्यालयमा बुझाइने संघर्ष समितिले जनाएको छ ।

स्याङ्जाको वालिङ, भीरकोट, गल्याङ र चापाकोटका नागरिकले बीपीसीको विद्युत सेवा उपभोग गर्दै आएका छन् । त्यस्तै पाल्पाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका केही वडाहरुले बीपीसीको विद्युत सेवा उपभोग गर्दै आएका छन् । विद्युत उपभोग गर्दै आएका पालिकाका उपभोक्ताहरुको साथ लिएर राजनीतिक दलहरुले बृद्धि भएको महशुल खारेज नभएसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्दै आएका छन् ।

चरणबद्ध आन्दोलन अनुसार संयुक्त संघर्ष समितिले बुटवल पावर कम्पनीका सेवा केन्द्रमा रहेका कार्यलय प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउदै अबदेखी उपभोक्ताको विद्युत मिटर रिडिङ नगर्न आग्रह गरेका छन् । राजनीतिकदलले संयुक्त हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा बृद्धि गरिएको विद्युत महशुल खारेजी नभएसम्म कम्पनीबाट मिटर रिडिङ कार्य बन्द गर्न र रिडिङ भइसकेका उपभोक्ताबाट रकम नबुझ्न समेत उल्लेख गरिएको छ । उपभोक्ताहरु आन्दोलित भएका बेला उपभोक्ताको मागलाई बेवास्ता गरी मिटर रिडिङ गरिएमा हुन सक्ने सम्पुर्ण क्षतीको जिम्मेवारी स्वयम् बीपीसीले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

बीपीसीको वालिङ सेवाकेन्द्रमा नेपाली काँग्रेसका नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका थमनदेवी काफ्ले, रास्वपाका प्रकाश अर्याल, नेकपा समाजवादीका जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रे, राप्रपाका युक्तप्रसाद तिवारी र नेकपा माओवादी (विप्लप) का रविन गुरुङले संयुक्त हस्ताक्षर गरी मिटर रिडिङ नगर्न अनुरोध गरेका छन् । यसै गरी भीरकोट, गल्याङ, चापाकोट, रामपुर र रम्भा पालिकाका राजनीतिकदलहरुले पनि संयुक्त हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएको बताइएको छ । गल्याङमा भने चेम्बर अफ कमर्शले दैनिक बीपीसीको कार्यालयमा धर्ना दिने काम गरिरहेको बुझिएको छ ।

Facebook Comments Box
TOP