बिपिसी महसुल बृद्धि : विद्युत मिटर रिडिङमा रोक ।

स्याङ्जा :
विद्युत नियमन आयोगले बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि बीपीसीका उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा लागेका छन् । बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्रको विद्युत महसुलमा भारी बृद्धि भएपछि उपभोक्ताहरु आन्दोलित भएका हुन् । स्याङ्जा र पाल्पाका ६ पालिकामा बिपिसीले विद्युत सेवा दिदै आएको छ । सोही अनुसार प्रभावित ६ पालिकाका ७ राजनीतिकदलका प्रमुख, उपभोक्ता, चेम्बर अफ कमर्श, पत्रकार सहितको संयुक्त भेलाले विद्युत महसुल खारेज नगरेसम्म चरणबद्ध आन्दोलनमा लाग्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस गल्याङ नगर समितिका सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको संयुक्त बैठकले शुल्क बृद्धिको निर्णय तत्काल खारेजीको माग गर्दै तत्काल बिपिसीलाई मिटर रिडिङ गर्न समेत रोक लगाउने निर्णय गरेका छन् । हरेक पालिकामा रहेका बिपिसीका सेवाकेन्द्रहरुमा धर्ना कार्यक्रम सहित विद्युत नियमन आयोगमा समेत मूल्य बृद्धिको सिफारिसलाई पुनरावलोकन गर्न उजुरी दिने निर्णय गरिएको बताइएको छ । बृद्धि महसुल खारेजी नहुन्जेल सम्म उपभोक्ताको घरमा पुगेर मिटिर रिडिङ् नगर्न चेतावनी दिइएको छ ।
सबै प्रदेश र संघीय सांसद, ६ ओटै पालिकाका प्रमुखहरुलाई महसुल बृद्धिको बिषयमा गम्भीर भएर लाग्न आग्रह गर्दै जिल्लातहमा रहेका पार्टी नेतृत्वलाई समेत आन्दोलनमा सरिक हुन आव्हान गर्ने निर्णय भएको नेकपा एमालेका वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो । विद्युत नियमन आयोगले पदाधिकारी विहीन हुने बेलामा गरेको निर्णय आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका समेत भेलाले गरेको पौडेलले बताउनु भयो । ।
कतिपय सहभागीहरुले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गरेका छन् । जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै भेलाले चिन्ता प्रकट गरेको उनीहरुले बताएका छन् । भेलामा नेपाली काग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भीरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटी अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो । गल्याङ् चेम्वर अफ कमर्शले दैनिक १ घण्टा बीपीसी गल्याङ्मा धर्ना दिएर आन्दोलन गरिएको छ ।

 

Facebook Comments Box
TOP