मानवसेवा भन्दा अर्काे लक्ष्य राजनैतिक दलको छैन : संघीय सांसद थापा ।

वालिङ :
प्रतिनिधि सभा सदस्य राजु थापाले मानवसेवा भन्दा अर्काे लक्ष्य राजनैतिक दलको नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो,“राजनैतिक दलको एक मात्र लक्ष्य मानवसेवा हो,यही लक्ष्यलाई सिरोधार्य गरेर काम गर्नु पर्दछ ।”
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको ३९ औं जिल्ला सभा तथा नवनिर्मित सभाहलको शुभारम्भ गर्नुहुँदै सांसद थापाले मानिसहरु अहमतामा रमाउन थालेको बताउनु भयो । विश्वभर अशान्ती र द्वन्दको प्रमुख कारण मानवतालाई बेवास्ता गर्नु रहेको उहाँको तर्क छ । उहाँले भन्नुभयो,“मानवताको बेवास्ता गर्दा रुस युक्रेन युद्ध तथा विभिन्न ठाउँमा अनावश्यक द्वन्द र विवाद भईरहेको छ ।”
समस्यामा परेका जिल्लाका नागरिकको जीवन यापन सहज गराउन नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले गरिरहेको क्रियाकलापको प्रशंसा गर्दै थापाले यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।


नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहनु भएका सांसद थापाले राजनैतिक दल र रेडक्रसको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सांसद थापाले रेडक्रस सोसाईटी स्याङ्जाले निर्माण गरेको सभाहलको उद्घाटन गर्नु भएको थियो ।
विभिन्न व्यक्ति र संघ संस्थाको सहयोग र सहकार्यमा सभाहलको निर्माण गरिएको भन्दै रेडक्रस सोसाईटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले समस्यामा परेका नागरिकको सहयोगमा आफूहरु निरन्तर लागि रहेको जानकारी गराउनु भयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका सभापति श्रीप्रसाद जिटी,रेडक्रस सोसाईटीका पूर्ब केन्द्रीय सदस्य हिरादेशी शर्मा,सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल,स्याङ्जा उद्योग बाणिज्य संघका अध्यक्ष महादेव शर्मा,नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष राधाकृष्ण डुम्रे,मेख बहादुर गुरुङ,बन्दना लम्साल लगायतले रेडक्रस स्याङ्ले कोभिड १९को महामारीमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
रेडक्रस स्याङ्जाले रक्तसञ्चार केन्द्रको सञ्चालन,डायलाईसिस केन्द्र सञ्चालको सहकार्य लगायतका काम समेत गर्दै आएको छ ।
सभापति अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसभापति लक्ष्मी थापाले स्वागत र रेडक्रस स्याङ्जाका उपमन्त्री खगेन्द्रप्रसाद अर्यालले सञ्चालन गर्नु भएको थियो ।

सभाको बन्दसत्रले सभापति दिनश अर्याल,मन्त्री रामचन्द्र अर्याल,कोषाध्यक्ष महेश बहादुर थापाले पेश गर्नु भएको प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।
सभामा जिल्लाका विभिन्न उपशाखाका सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP