आठौं वालिङ महोत्सवमा प्रतियोगितात्मक कार्यक्रम सुरु

वालिङ :
स्याङ्जाको वालिङमा सञ्चालित आठौं वालिङ महोत्सवमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सुरु भएका छन् । वालिङस्थित खेलमैदानमा सञ्चालित महोत्सव २०८० को दोस्रो दिन शुक्रबार देखि प्रतियोगितात्मक कार्यक्रमहरु सुरु भएका हुन् ।
आज स्याङ्जा डान्स आइडल सिजन थ्री र रत्यौलीगीता प्रतियोगिता भए । स्याङ्जा डान्स आइडल सिजन थ्री का प्रतिस्पर्धीमध्ये ३ जना र रत्यौलीगीत प्रतियोगितामा सहभागी १६ मध्ये दुई समूहको प्रतियोगिता गराइएको हो । यसैगरी विद्यालय नृत्य प्रतियोगिता अन्तर्गत सहभागी १६ मध्ये बालविद्या विकास आवासीय माविको प्रस्तुति रहेको थियो । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँदैजाने वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृति उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो । यसैगरी भोलिदेखि लोक भजनगीत प्रतियोगिताका कार्यक्रमसमेत रहने उहाँले जानकारी दिनुभयो ।
यसकासाथै राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, घनश्याम रिजाल, कृष्ण सुवेदी, अर्जुन थापा, ज्योति लोहोनी, नेत्र गुरुङ, कमला गैरे, नेत्र खड्का, राजेश भण्डारी, जगत गौंडेल र लोकपप गायक सञ्जिव सिं रानाको सांगितिक प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनसहित नचाएको थियो ।


हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नारासहित वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो ।
प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महाउत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका पसलहरु राखिएका छन् । यसकासाथै विविध प्रतियोगितात्मक कार्यक्रमहरुकोसाथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् ।

Facebook Comments Box
TOP