कर्मचारी र जनप्रतिनिधिको सहकार्यले नागरिकका समस्या समाधान गर्न सहज-सांसद थापा

राधाकृष्ण डुम्रे/स्याङ्जा
प्रतिनिधिसभा सदस्य राजु थापाले कर्मचारी र जनप्रतिनिधिको सहकार्यले नागरिकका समस्या समाधान गर्न सहज हुने बताउनु भएको छ । कर्मचारी र जनप्रतिनिधिहरुको सहकार्यले मात्रै नागरिकको समस्या समाधान हुने र देशको समग्र विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा भएको परिचयात्मक बनभोज कार्यक्रममा बोल्दै सांसद थापाले कर्मचारीहरुका समस्या समाधानका लागि सामुहिक पहल आवश्यक रहने बताउनु भयो ।
कर्मचारीहरुका विभिन्न समस्या रहेको भन्दै सांसद थापाले निजामती कर्मचारी ऐनको बारेमा संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“लामो समय देखि ऐन बिचाराधिन अवस्थामा छ म यसबारे संसदमा कुरा उठाउने छु ।”

जनतामा मात्रै होईन कर्मचारीहरुमा पनि निराशा देखिएको छ सांसद थापाले भन्नुभयो, “व्यववस्थाको कारण सवै तिर निराशा छाएको त होईन भन्ने विषयले चर्चा पाउँदै आएको छ, यसमा समिक्षा गर्नुपर्ने देखिन्छ ।”
नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहनु भएका थापाले कर्मचारी स्थायी सरकार भएको बताउनु भयो । नागरिकका समस्या समाधानका लागि कर्मचारी युनियनले खेलेको भूमिका महत्वपूर्ण रहदै आएको उहाँको भनाई छ ।


कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले कर्मचारी र जनप्रतिनिधिहरु मिलेर काम गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“दुवै पक्षको सहकार्यले मात्रै नागरिकका समस्या समाधान सहज रुपमा गर्न सकिन्छ ।”
निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोख्रेलले कर्मचारीहरुका समस्या समाधानका लागि युनियन प्रतिबद्ध रहेको बताउनु भयो । जिल्लाका समिति मार्फतका आएका समस्याहरु समाधानका लागि आफूहरु सक्रिय रहेको उहाँको भनाई छ।
अध्यक्ष पोख्रेलले भन्नुभयो,“कर्मचारीको समस्या समाधानाका लागि युनियनको नेतृत्वमा अन्य संगठनहरुसँगको सहकार्यलाई मजबुत बनाएका छौं, जसका कारण समस्या समाधान गर्न सहज हुँदै आएको छ ।”


कार्यालय प्रमुखका तर्फबाट भनाई राख्नुहुँदै निमित्त प्रमुख जिल्ला अधिकरी दिपक पौडेलले कर्मचारीहरु जिम्मेवार भएर सेवा प्रवाह गरिरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा युनियन स्याङ्जाका अध्यक्ष ज्ञानप्रसाद अर्यालले कर्मचारीले नागरिकलाई शिरमा राखेर काम गर्नु पर्ने बताउनु भयो । असल नियतले नागरिकका काम गर्दागर्दै पनि अनावश्यक दवाव दिने प्रवृत्तिका कारण समस्या आउने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,“अनावश्यक दवावका कारण कर्मचारी अन्यायमा पर्ने गरेकाछन्, हामी यस तर्फ सचेत हुँदै सहकार्य गर्नुपर्ने हुन्छ ।” एक कर्मचारीलाई समस्या पर्दा अरुले साथ दिनु पर्नेमा उहाँको जोड छ ।
संघीय तथा स्थानीय निर्वाचनमा कर्मचारीले खेलेको भूमिकाको दलहरुले मूल्याङ्कन नगरेको भन्दै अध्यक्ष अर्यालले भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले पनि आफ्नो भनाई राख्नु भएको थियो ।
भीरकोट नगरपालिका–४ भीरकोट पार्कमा भएको कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य,गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराई,चापाकोट नगरपालिकाका प्रमुख देब बहादुर खाँण (ईश्वर),अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी,विभिन्न पालिकाका उपप्रमुखहरु,नेपाली कांग्रेसका नेताहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु,युनियन आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम युनियन स्याङ्जाका अध्यक्ष ज्ञान प्रसाद अर्याललको सभापतित्वमा स्वागत उपाध्यक्ष पुरुषेत्तम कोईराला र सञ्चालन सचिव राजेन्द्र पराजुलीले गर्नु भएको थियो ।

 

Facebook Comments Box
TOP